तातोपानी कुण्ड बन्द गरिने

बेनी, ५ चैत ः कोरोना भाइरसबाट जोगिन म्याग्दीका तातोपानी कुण्डमा स्नानका लागि बन्द गरिने भएको छ । कोरोना भित्रन नदिन सतर्कताका लागि तातोपानी कुण्ड बन्द गराउने निर्णय गरेका हुन् ।

प्रशासन, स्वास्थ्य कार्यालय र बेनी नगरपालिकाको अनुरोधमा प्राकृतिक चिकित्सालयको रुपमा परिचित बेनी नगरपालिका–४ को सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले आगामी शनिबार देखि बन्द गराउने समितिका सहसचिव कुमार केसीले जानकारी दिनुभयो ।

मानिसहरुको जमघट हुने तातोपानी कुण्डहरुमा भिड लाग्ने गर्छ । कुण्डमा आउने बिरामी तथा पर्यटकको माध्यमबाट कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै सतर्कताका लागि बन्द गराउने निर्णय भएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।

कोरोनाको त्राससंगै कुण्डमा स्नानका लागि आउने बिरामीहरुको संख्या केही दिनयता ह्वात्तै घटेको छ । अध्यक्ष शाक्यका अनुसार प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि आएका बिरामीहरु फर्कीएपछि बन्द गराउन लागिएको हो ।

मंगलबारबाट नयाँ बिरामीहरुलाई टिकट वितरण बन्द भएको छ । फागुन, चैत र बैशाख महिना कुण्डमा स्नानको मुख्य सिजन (याम) हो । यो याममा दैनिक एक हजार छ सय जना सम्मले कुण्डमा स्नान गर्छन् ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ ।
वीरेनून र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । सिंगाका साथै मुस्ताङ जाने बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउपालिका–२ भुरुङ्ग तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीय स्थलको रुपमा परिचित छ ।

अन्नपूर्ण गाउपालिकाको पाउद्धार, पोखरेबगरको रातोपानी, दोवाको सेकार्कु, रघुगंगा गाउपालिकाको दर्मीजा, धवलागिरी गाउपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन् । यी कुण्डहरुमा पनि स्नान गरेर उपचारका लागि बिरामीहरु आउँछन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सबै कुण्डहरु बन्द गराउन बुधबार सम्बन्धित स्थानीय तहहरुलाई परिपत्र गरिएको जानकारी दिनुभयो । कोरोनाको जोखिम हुने भएकाले स्थानीय प्रशासनले मेला, महोत्सव, सभा, समारोह आयोजना गर्न बन्द गराएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: