धवलागिरी गाउपालिकाका पूर्वाधार योजना कार्यान्वयन तिब्र

मुना, १ चैत । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउपालिकामा विकास निर्माणका योजना कार्यान्वयनले तिब्रता पाएको छ ।

धवलागिरी गाउपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन गरेका सडक, खानेपानी, सिचाई, नदी तथा पहिरो नियन्त्रण, सामुदायिक भवन निर्माण लगायतका पूर्वाधार आयोजना निर्माण तिब्रताका साथ अघि बढेको हो ।

जेठ महिना अघिनै पूर्वाधार योजना सम्पन्न गरिसक्ने लक्ष्य सहित सम्झौता गरि धमाधम कार्यान्वयनको चरणमा लगिएको गाउकार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

आर्थिक वर्षको अन्तिम असार महिनामा मौसम प्रतिकुल हुने, उपभोक्ता कृषिको काममा जुट्ने, जनप्रतिनिधि र कर्मचारी आगामी वर्षको योजना बनाउन जुट्दा अनुगमन फितलो हुने र हतारमा गरिएका काम दिगो तथा गुणस्तरीय बन्न सकेका छैनन् ।

बजेट मात्र सकिने, उपलब्धि र प्रभावकारी नहुने असारे विकासको समस्यालाई समाधान गर्न यो वर्ष चैत पहिलो हप्ताभित्र योजना सम्झौता र जेठभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिएर पूर्वाधार निर्माणको काम माघ फागुनदेखिनै सुरु गरिएको प्रवत्ता छन्त्यालले बताउनुभयो ।

‘सबै वडाका योजनाको उपभोक्ता समिति गठन भैरहेको छ । प्राबिधिकहरुले डिजाइन र लागत अनुमान तयार पारिसकेका छन्,’ उहाँले भन्नुभयो ‘उपभोक्ता समिति मार्फत धमाधम निर्माणको काम भैरहेको छ । कामलाई गुणस्तरीय र दिगो बनाउन प्राबिधिक सहित जनप्रतिनिधिहरुको टोलीले अनुगमनमा खटिएका छौ ।’

धवलागिरी गाउपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा १२० वटा योजनालाई १४ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । बिहीबारसम्म ८५ वटा योजनाको सम्झौता भइसकेको र १५ वटाको अन्तिम किस्ता भुक्तानी समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताउनुभयो ।

उहाँका अनुसार बाँकी योजनाहरु चैत पहिलो हप्ताभित्र सम्झौता गरिसक्ने र काम सम्पन्न भएका १६ वटा योजनाको अन्तिम किस्ता भुक्तानीको चरणमा छन् । ३८ करोड रुपैयाँ कुल बजेट बिनियोजन भएकोमा चालु तर्फको ३० र पुजिगत तर्फको ११ प्रतिशत बजेट खर्च भएको छ ।


काम सकिएका योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीको तलब निकासा गरेपछि पचास प्रतिशत वित्तिय प्रगति हुने उहाँको भनाई छ । गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले काम सम्पन्न भएका योजनाका उपभोक्ता समितिलाई अन्तिम किस्ता भुक्तानीका लागि अनुगमन लाई तिब्र बनाएको बताउनुभयो ।

गाउपालिकाले गौरवको आयोजना मानेका लुलाङको दरखोला लघुजलविद्युत परियोजना, बगरको सौर्य उर्जा विद्युतिकरण योजना सम्पन्न भइसकेको छ । यस वर्ष मुदीमा गाउँपालिका र संघीय सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत सडक पु¥याउने तयारी गरिएको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

पचास लाख रुपैयाँ बिनियोजित मुदी र हिलापोखरी–खोरवाङ सडकको ठेक्का प्रस्ताव मूल्याङ्कनको चरणमा छन् । लुलाङको वडा कार्यालय, मुना स्वास्थ्य र हेम नमुना आवासीय माविको भवन निर्माणका लागि ठेक्का आव्वाहन गरिएको इञ्जिनियर सोविन जिसीले बताउनुभयो ।
सत्तरी लाख बिनियोजित बञ्चरे खानेपानी आयोजनाको पनि ठेक्का आव्हानको तयारी भएको छ । पचास लाख रुपैयाँ बिनियोजन भएको गुर्जाको आन्तरिक सडक निर्माण योजनाको उपभोक्ता समितिले सम्झौता गरेर काम सुरु गर्ने तयारी गरेका छन् ।

मराङको कुम्रि राम्चे बुल सडक निर्माण भैरहेको छ । प्रदेश सरकारको बजेटबाट मल्कवाङमा यस वर्ष सडक पुग्ने गाउपालिकाले जनाएको छ । मुना हुदै लमसुङ लुलाङ गुर्जातर्फ गाउपालिकाको र खोरीया हुदै जलजला संघीय सरकारको बजेटबाट सडक निर्माण हुन लागेको छ ।


मुनामा गाउँपालिकाको चार कोठे भवन निर्माण भैरहेको छ । प्रदेश सरकारले धौलागिरि र गुर्जा हिमालको आधार शिविर जोड्ने पदमार्गका लागि पचास÷पचास लाख रुपैयाँ बजेट पठाएको छ । पहिलो चरणमा पच्चिस÷पञ्चिस लाख रुपैयाँ प्राप्त भएको छ । गुर्जाको उपभोक्ता समितिसंग सम्झौता भइसकेको छ ।

धौलागिरि आधार शिविरमा हिउँ पग्लीलिएपछि काम सुरु हुने जनाइएको छ । गुर्जा हिमाल जोड्ने पदमार्ग निर्माण समितिका अध्यक्ष प्रेम छन्त्यालले हिउँ पग्लीएर गर्मी बढ्न थालेपछि योजना निर्माणमा जुटेको बताउनुभयो ।

मंसिरदेखि फागुन अन्तिम सातासम्म लगातार ८ पटकसम्म परेको हिमपातले पुष, माघ र फागुनमा काम गर्न नपाएको उहाँले बताउनुभयो । मराङ बेशी नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष अमर पुनले तटबन्धको काम सकेर अन्तिम भुक्तानीका लागि पालिकामा आएको बताउनुभयो ।

यसैगरी धवलागिरी गाउपालिकाको विभिन्न ५ ठाउँमा निर्माण हुन लागेका झोलुङ्गे पुलको पनि उपभोक्ता समितिसंग सम्झौता गरेर पहिलो चरणको काम सुरु गरेका छन् । मल्कवाङको खालीखोलामा ६० मिटर, गुर्जाको दोप्ताखोलामा ६७ मिटर, लुलाङको कास्काम खोलामा ५० मिटर, मुदीको जुरकुश खोलामा ३२ मिटरको स्टील ट्रस, मुदीको देमु घाटमा ७२ मिटर लामो झोलुङ्गे पुल बनाउन लागिएको असिस्टेन्ट सब इञ्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।

कृषि र पशु सेवा शाखा तथा अन्य लक्षित बर्ग, क्षमता विकासका कार्यक्रम पनि जेठ अघिनै सम्पन्न गर्ने गरि सम्बन्धित शाखाबाट काम भैरहेको योजना शाखाका प्रमुख कृष्ण सुवेदीले बताउनुभयो । लोक सेवा आयोगबाट कर्मचारीहरु पदपुर्ति भएर आएपछि योजना कार्यान्वयन र सेवा प्रवाहमा सहज भएको छ । धवलागिरी गाउपालिकाका सात वटै वटामा सचिव छन् । कृषि, भेटनरी शाखा र स्वास्थ्य चौकी बाहेक अरु शाखामा कर्मचारी आएका वडा न. ३ का अध्यक्ष पुर्म पुनले बताउनुभयो । यो समाचार बेनीको रिखार दैनिक पत्रिकाको शुक्रबारको अंकमा प्रकाशित छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: