धारापानीको जुगेपानीमा सुख्खा पहिरो खसेपछि यातायात सेवा प्रभावित

गोपाल आचार्य
ताकम, २९ फागुन । म्याग्दीको धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना सडक अवरुद्ध भएको छ ।

धवलागिरी गाउपालिका–७ धारापानीको जुगेपानीमा सुख्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक अवरुद्ध बनेको हो । हालै पहाड काटेर फराकीलो बनाइएको सडकको माथिबाट खसेको पहिरोले करिब दश मिटर सडक पुरिएको छ ।

पहिरोका कारण जिल्ला सदरमुकाम बेनी देखि दरवाङ धारापानी ताकम हुदै मुना जोड्ने सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको छ । बेनी र दरवाङ देखि ताकम तथा मुनातर्फ जाने र मुना ताकमबाट दरवाङ तर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् ।

सर्वसाधारणलाई आवत जावत, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी तथा स्थानीय स्तरमा उत्पादीत कृषि उपज निकासीमा समस्या भएको छ । पहिरो पन्छाएर सडक मर्मत गरि यातायात सञ्चालनका लागि गाउपालिकामा पहल गरिएको ताकमका वडा अध्यक्ष कलानिधी शर्माले बताउनुभयो ।

जुगेपानीको पहिरो पन्छाउने काम नहुँदासम्म धारापानी–कुटीचौर हुदै ताकम जोड्ने बैकल्पिक सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । जिप, मोटरसाइकल, ट्याक्टर लगायत साना सवारी साधन चल्न सक्ने धारापानी–कुटीचौर–ताकम बैकल्पिक सडकलाई मर्मत गरेर ठूला बस र ट्रक सञ्चालन गर्न सकिने बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: