घैपु खोलामा सुख्खा पहिरो खस्दा चालक वेपत्ता, सडक अवरुद्ध

बेनी, १९ फागुन ः बेनी–जोमसोम–कोरला सडक अन्तरगत थासाङ गाउँपालिका–३ र ४ को सिमाना घैपु खोलामा सुख्खा पहिरोले एक्साभेटर (डोजर) पुरिदा चालक वेपत्ता भएका छन् ।

पहिरोले सडक विस्तारमा परिचालन भएको डोजर पुरिदाँ चालक सिन्धुपाल्चोकका अर्जुन दाहाल वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

काम गरिरहेको अवस्थामा पहिरो खसेर डोजरसगै चालक दाहाल कालीगण्डकी किनारको खोचमा खसेका छन् । जोखिमयुक्त ठाउँ भएकाले डोजर र चालक भएको ठाउँसम्म उद्धारकर्ता पुग्न सकेका छैनन् ।

सोही पहिरोसंगै खसेको ढुङ्गाले चोट लागेर बेनी देखि जोमसोम जादै गरेको एक वटा बसका दुई जना यात्रु सामान्य घाइते भएका छन् । उनिहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

शर्मा–गजुरमुखी निर्माण कम्पनीले सडक विस्तारका क्रममा प्रयोग गरेको डोजर दुर्घटनामा परेको हो । सडक विस्तार गरिरहेको अवस्थामा माथिबाट खसेको सुख्खा पहिरोसंगै डोजर अग्लो पहाडबाट खसेको थियो ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, निर्माण कम्पनी र स्थानीय बासीन्दा वेपत्ताको खोजीमा जुटेका प्रहरी निरिक्षक बिनोद सुवेदीले बताउनुभयो । घटनास्थलमा रहनुभएका सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनका अनुसार वेपत्ता र डोजर देखिएपनि भिरको बाटो भएर उद्धारकर्ता त्यहाँसम्म पुग्न सकेका छैनन् ।

डोजर पूर्ण रुपमा क्षति भएको छ । सुख्खा पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । बेनी देखि जोमसोम तर्फ हिडेका र जोमसोम देखि बेनीतर्फ आउन लागेका सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् ।

गत वर्ष पनि सडक विस्तारका क्रममा लेते नजिकै एक वटा एक्साभेटर दुर्घटना हुँदा चालकको ज्यान गएको थियो । चिनको सिमाना कोरला नाका जोड्ने यो सडक राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगतको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: