यस्ता छन् मालिकाको छैठौ गाउँसभाले गरेका निर्णयहरु

दरवाङ, ६ फागुन । मालिका गाउँपालिकाको मंगलबार दरवाङमा सम्पन्न छैठौ गाँउसभाले चालु आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट संसोधन गरेको छ ।

गत आर्थिक वर्षमा खर्च हुन बाकि रहेको र चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएर कार्यान्वयन हुन नसकेको तीन करोड ९५ लाख १२ हजार रुपैयाँ बजेट संसोधन गरेको हो । गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा भएको गाउसभामा उपाध्यक्ष खरमाया बिटालुले संसोधित र रकमान्तर भएका बजेट तथा योजना विवरण प्रस्तुत गर्नुभएको थियो ।

गाउँसभाका सदस्यहरुले आफ्नो भनाई राखेपछि बजेट संसोधन प्रस्ताव पारित भएको थियो । गाउपालिकाको प्रशासनिक, क्याम्पस, इलाका प्रहरी कार्यालय, अस्पताल र बसपार्क निर्माणका लागि छ्यारछ्यारेको सार्वजनिक जग्गा प्राप्तिका लागि निर्णय गरि संघीय सरकारको मन्त्री परिषद्मा पेश गर्ने निर्णय भएको छ ।

गाउँपालिकाको जग्गा खरिदका लागि बिनियोजन भएको एक करोड रुपैयाँ सार्वजनिक जग्गा प्राप्ति प्रक्रिया अघि बढाएपछि खर्च गर्नु नपर्ने भएकाले रकमान्तरण गरिएको हो । गत वर्ष खर्च हुन नसकेको दुई करोड ५२ लाख ३० हजार रुपैैयाँ बजेट पनि बाडफाड गर्न बाँकी थियो ।
संघीय, प्रदेश सरकारसंग साझेदारीमा सञ्चालन गरिने योजना तथा कार्यक्रमका लागि समपुरक कोषमा एक करोड ५० लाख रुपैयाँ बिनियोजन भएको छ । वडा न. १ निस्कोटको वडा र स्वास्थ्य चौकी तथा वडा न. ५ र ७ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्न ८० लाख रुपैयाँ बिनियोजन भएको छ । यसअघिको गाउसभाले वडा र स्वास्थ्य चौकीको जग्गा खरिद गर्न ३५ लाख बिनियोजन गरेको थियो ।

साझेदारीको कार्यक्रम अन्तरगत संघीय सरकारबाट २५ लाख बिनियोजन भएको दरवाङ बजार नदी नियन्त्रण योजनालाई ४५ लाख रुपैया थप बजेट बिनियोजन गरेको छ । गाउपालिकाले यो योजनालाई यसअघि १० लाख बिनियोजन गरेको थियो । सात वटै वडामा सञ्चालित बजेट अभावमा अधुरा योजनालाई पूर्णता दिन १२ लाख देखि २४ लाख रुपैयाँ सम्म बजेट थप भएको छ ।

कृषि सम्बन्धी कार्यक्रमलाई ३६ लाख र पशु विकास कार्यक्रमलाई २४ लाख रुपैयाँ बिनियोजन भएको छ । भैसी, बाख्रा, बंगुर, कुखुरा, माछा÷माहुरीको मोडेल फार्म कार्यक्रमका लागि तीन÷तीन लाख, औषधि खरिदमा पाँच लाख र बाझोपन निवारण तथा पशु स्वास्थ्य शिविर सञ्चालन गर्न चार लाख बिनियोजन भएको छ ।

सात वटै वडामा कृषिका विभिन्न पकेट क्षेत्र बनाउन बजेट बिनियोजन भएको छ । निस्कोटमा सतुवा र अलैची खेतीलाई दुई लाख २० हजार तथा उन्नत जातको घासको विउ, च्यापकटर मेसिनलाई असी हजार बिनियोजन भएको छ ।

रुममा एभोकाडो र सुनकागति खेति विस्तार गर्न ९ लाख, डाडागाउमा एभोकाडो र कागति खेति विस्तार गर्न नौ लाख, ओखरबोटमा कागति, टिम्मुर, तरकारी र एभोकाडो खेतिको कार्यक्रमलाई आठ लाख छुट्टाइएको छ । देविस्थानमा सतुवा र कागति खेतिको पकेट क्षेत्र बनाउन पाँच तीन लाख, दरवाङमा सिमि, भटमास, गोलभेडा, टनेल खेति विस्तार गर्न तीन लाख बिनियोजन भएको छ ।

बिममा एभोकाडो खेति विस्तार गर्न तिन लाख बिनियोजन भएकोमा एक लाख थप गरिएको छ । महिला स्वमसेविकाहरुको प्रोत्साहनका लागि छ लाख पचास हजार रुपैयाँ छुट्टाइएको छ । गाउसभामा प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले चालू आर्थिक वर्षको साउन देखि माघ सम्म बजेट कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

गत असारको पाँचौ गाउसभाले बिनियोजन गरेको कुल ३९ करोड ८४ लाख ९४ हजार रुपैयाँ बजेट मध्य माघ सम्म १९.९८ प्रतिशत खर्च भएको छ । चालुतर्फ २४ करोड ७४ लाख रुपैयाँ बिनियोजन भएकोमा ३१.५९ र पुजीगततर्फ १५ करोड ९४ मध्य ५.७९ प्रतिशत खर्च भएको छ ।
पुजिगत बजेट र पूर्वाधार योजना कार्यान्वयनमा मालिका गाउपालिका कमजोर देखिएको छ । पूर्वाधार सम्बन्धी १३५ वटा योजना रहेकोमा ६ वटा मात्र सम्पन्न भएको छ । ३८ वटा सम्झौता भएर कार्यान्वयनको चरणमा छन भने ५८ वटा सम्झौता हुन बाँकी छन् ।

लेखा र प्राबिधिक जनशक्तिको अभावमा योजना तथा बजेट परिचालनमा समस्या भएको उपाध्यक्ष बिटालुले बताउनुभयो । कर्मचारी व्यवस्थापन भएको र सम्पन्न भएका योजनाको समेत भुक्तानी नभएको बताउदै अब बजेट खर्चको दर बढ्ने उहाँको भनाई छ ।

अध्यक्ष श्रीप्रसाद रोकाले योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा बजेटको सदुपयोगमा जोड दिनुभयो । गाउसभाका सदस्यहरु सन्तोष सुवेदी, कर्ण रोका, पटबहादुर रोकाले आफ्नो भनाई राख्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: