उपल्लो मुस्ताङको मराङमा घरबास सुरु

मुस्ताङ, १२ कात्तिक ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मराङमा सामुदायिक होमस्टे (घरबास) सुरु भएको छ ।

गाउँमा आउने पर्यटकको सुबिधाका लागि पाँच वटा घरमा घरबास सञ्चालन भएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा सुरु गरिएको होमस्टेमा एक दिनमा तीस जना बास बस्न सक्ने क्षमता छ ।

गण्डकी प्रदेशको आन्तरिक र संघीय सरकारको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रमलाई लक्षित गरेर घरबास सुरु गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष ढावा सुन्टुक गुरुङले बताउनुभयो ।

पाहुनाको चापलाई हेरेर होमस्टेको संख्या बढाउदै लैजाने योजना रहेको उहाँले बताउनुभयो । मराङ सामुदायिक होमस्टेको सोमबार संस्कृति, पर्यटन तथा नागरिक मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीय स्थलमा पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको मन्त्री भट्टराईले बताउनुभयो । भ्रमण वर्ष सफल बनाउन समुदाय स्तरबाट पनि सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, प्रदेश सांसद इन्द्रधारा बिष्ट, जिसस प्रमुख छिरीङ ल्हामो गुरुङ, गाउँपालिकाका अध्यक्ष राजु बिष्ट लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

होमस्टे सञ्चालनका लागि प्रदेश सरकारले रु. दश लाख सहयोग गरेको थियो । सो सहयोगबाट घरको कोठा ब्यवस्थापन, शौचालय, बाथरुम, बेडरुमको साजसज्जा गरिएको छ । गाउँपालिकाले पनि साझेदारी गरेको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सञ्चालकहरुलाई अतिथि सत्कार र खानाका परिकार तयार पार्ने तालिम दिएको थियो ।

जोमसोम–कोरला सडक अन्तरगत चराङदेखि बीस मिनेटको गाडीको यात्रामा पुगिने मराङमा ४६ घरधुरीको बसोबास छ । पृथक भूगोल, नेपालकै पुरानो मानिएको ऐतिहाँसिक लोघेकर गुम्बा, स्थानीयको जिवनशैली, संस्कृति, लाङबुछे भ्यु प्वाईन्ट, गोलाखा गुफा, ट्रेसर गुफा, ङ्ग्री पेनचेन फुट प्रिन्ट र गुफा, स्याउ बगैचा र गासे फु मराङ गाउँको आकर्षण भएको स्थानीयबासी समेत रहनुभएकी जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले बताउनुभयो ।

फापरको रोटी, ढिडो, च्याङग्राको ताजा मासु र सुकुटी, चिसो हावापानीमा उत्पादीत तरकारी, स्याउका परिकारको स्वाद लिन पाइन्छ । घोडा चढेर गुफा र गुम्बा घुम्न जान सकिन्छ । लोमान्थाङ र कोरला नाका घुम्न जाने आउने पर्यटकहरु मराङ गाउँमा बास बस्न सक्छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: