बेनीमा टोल टोलमा गाई डुलाएर पूजा

बेनी, ११ कात्तिक । बेनीमा यमपञ्चकको चौथो दिन सोमबार गाईलाई टोल टोलमा डुलाएर पूजा गराइएको छ ।

जलजला गाउँपालिका–७ धाइरीङको गण्डकी गोपाल गौशाला मार्कण्डेय भूमेबराह क्षेत्र गोकुलधामले बजारबासीलाई घर अगाडीनै गाईको पूजा गर्ने व्यवस्था मिलाएको हो ।

गौशाला सञ्चालक समिति र धाईरीङ–बेनी सम्पर्क समाजका पदाधीकारीहरुले गाईको महत्व झल्कने भजन किर्तन सहित बजार परिक्रमा गरेका थिए ।

स्थानीय जातका गाइको संरक्षण गर्न स्थापित गौशाला सञ्चालन गर्न आयस्रोत जुटाउने उद्देश्यले आगामी महिना हुन लागेको महायज्ञको समेत प्रचार गरेका थिए ।

बेनी बजारको सबै टोल र चोकमा गाई लाई पु¥याएर मन्त्रोच्चारण गरि धार्मिक विधि अनुसार पूजा गर्ने व्यवस्था मिलाइएको थियो ।

गाई नपाएर गाईपुजा गर्न समस्या भएको अवसरमा गौशालाको कार्यक्रमले सहज बनाएको बजारबासीले बताएका छन् ।

यसैगरी लक्ष्मिनारायण मन्दिर संरक्षण समितिले पनि गाउँबाट गाई ल्याएर मन्दिर परिसरमा बजारबासीलाई गाईपूजा गर्ने व्यवस्था मिलाएको थियो ।

यमपञ्चक अर्थात तिहारको चौथो दिन गाई, गोरु र कृषकको पूजाआजा गरी मिठो खानेकुरा खान दिने चलन छ । गाईको पूजा गरी आजका दिन मिठा–मिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदने धार्मिक विश्वास छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाई नेपालको राष्ट्रिय जनावर पनि हो ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मिठा–मीठा खानेकुरा खाने दिने चलन छ ।
यसैगरी गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिठा–मिठा परिकार खुवाइन्छ । गोठमा बाबियोको डोरीको तोरण बनाएर तान्ने चलन पनि छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: