चराङमा विमानस्थल निर्माण गरिने

निरज थकाली

जोमसोम, ११ कात्तिक ः सरकारले मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका १ चराङमा बिमानस्थल निर्माण गर्ने भएको छ ।

उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर चराङमा विमानस्थल बनाउने तयारी भएको हो ।

एक वर्षअघि नेपाल नागरिक उड्यन प्राधिकरणका इञ्जिनियर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राबिधिकहरुको टोलीले बिमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले सोमबार प्रस्तावित विमानस्थल निर्माण स्थलको स्थलगत निरिक्षण गर्नुभएको छ ।

मन्त्री भट्टराईले प्राबिधिक टोलीले तयार पारेको प्रतिवेदनको आधारमा विमान स्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर कार्यान्वयनमा लैजाने बताउनुभयो । डिपिआर बनाउन प्राबिधिक टोली पठाउने जानकारी दिनुभयो ।

“अनुकुल भुगोल र पर्याप्त जग्गा भएका आधारमा चराङमा विमानस्थल निर्माण गर्न सकिने प्राबिधिक टोलीको सुझाव छ” मन्त्री भट्टराईले भन्नुभयो “दामोदर कुण्डमा भक्तजन, उपल्लो मुस्ताङमा पर्यटक भित्र्याउन तथा जनजिवनलाई सहज बनाउन विमानस्थलले सहयोग पु¥याउनेछ ।”

समुन्द्रि सतहदेखि तीन हजार ८०० मिटरको उचाईमा करिब तीन हजार रोपनी समथर जमिनमा विमानस्थल बनाउन प्रस्ताव गरिएको दामोदर कुण्ड लोघ्यकर गाउँपालिकाका अध्यक्ष राजु बिष्टले बताउनुभयो ।

“छोटो समयका लागि भ्रमणमा आउने विशिष्ट पर्यटक र स्थानीयको सुबिधाका लागि बिमानस्थल निर्माण गर्न पहल गरिएको हो” बिष्टले भन्नुभयो “जोमसोम हुदै उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र सडक यातायातको सहज सुबिधा नभएकाले पर्यटकहरुलाई समस्या भएको छ ।”

सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, प्रदेश सांसद इन्द्रधारा बिष्ट, लगायत जनप्रतिनिधि र स्थानीय अगुवाहरुको उपस्थिति थियो । यसैगरी मन्त्री भट्टराईले दामोदरकुण्ड लोघ्यकर गाउँपालिका–२ मा सञ्चालित मराङ सामुदायिक होमस्टेको उद्घाटन गर्नुभएको ।

मराङको ५ वटा घरमा होमस्टे (घरबास) सञ्चालन भएको छ । मन्त्री भट्टराईले हिन्दु तथा वौद्ध धर्मवालम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा भएका पूर्वाधार निर्माणका कामको निरिक्षण र सरोकारवालाहरुसँग छलफल गर्नुभएको थियो ।

मुक्तिनाथ मन्दिरको गुरुयोजना अनुसार पुरातत्व विभाग संगको समन्वयमा विभिन्न पूर्वाधार निर्माण भइरहेको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: