लक्ष्मिपुजाका दिनदेखि हिलापोखरीमा केन्द्रीय लाइनको बिजुलीले झिलीमिली

गोपाल आचार्य
ताकम, ११ कात्तिक ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रशारण लाइनको विद्युत सुबिधा पुगेको छ ।

नेपाल विद्युत प्राधिकरण र धवलागिरी गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युतीकरण भएको हो । साविक ताकम गाविसको वडा न. ७ मा पर्ने हिलापोखरीका ६५ घरमा आइतबार साँझ देखि बिजुली बलेको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिनुभयो ।

“लक्ष्मि पुजाको दिनमै बिजुली बाल्न पाउँदा खुसीयाली छाएको छ” मल्लले भन्नुभयो “बिजुलीले गाउँ झिलीमिली भएको छ ।” स्थानीयबासी समेत रहनुभएका वडा अध्यक्ष कलानिधी सुवेदीले तिहारको बिदा समेत नभनी बिद्युतीकरणमा खटिएका प्राबिधिकलाई सम्मान गर्नुभएको थियो ।

उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ । यसअघि हिलापोखरीमा इन्धनबाट जेनेरेटर चलाएर फर्नीचर उद्योग सञ्चालन गरिएको थियो ।

खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् । फर्नीचर, ब्लक, राइसमील, कुखुरापालन सञ्चालन गर्न सकिने भएको छ । यसअघि हिलापोखरीका बासिन्दाहरुले उज्यालोका लागि पेल्ट्रिक सेट, सोलार र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए । यसअघि गत महिना साविव ताकम गाविसको ३, ४ र ५ नम्बर वडाका २२० घरमा बिजुली बलेको थियो ।


वडा अध्यक्ष सुवेदीका अनुसार साविक ६, ८ र ९ नम्बर वडाका थप ३०० घरमा तिहार लगत्तै विद्युतीकरण गर्ने तयारी भएको छ । यसअघि धारापानीमा २०१ घरमा गत वर्ष गाउँपालिकामै पहिलो पटक विद्युतीकरण भएको थियो । ताकम विद्युतीकरण धवलागिरी गाउँपालिकाले सञ्चालन गरेको गौरवको आयोजना हो ।

विद्युत प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने, ट्रान्सफर्मर जडान, ढुवानी गरेको थियो । गाउँपालिकाबाट गत आर्थिक वर्षमा बिनियोजन भएको रु. असी लाख मध्य ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरिद गरेका थिए ।

धवलागिरी गाउँपालिकामा विद्युतीकरणका लागि संघीय सरकारले गत वर्ष बिनियोजन गरेको रु. चार करोड पचास लाख बजेटबाट दुई वटा ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो । पहिलो चरणमा ढुङ्गाना निर्माण सेवा र दोस्रो चरणमा आचार्य निर्माण सेवाले ठेक्का पाएका थिए ।

दुवै कम्पनी मार्फत ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिममा ४१७ वटा पोल गाड्ने, पाँच थान ट्रान्सफर्मर ढुवानी गर्ने र करिब ६७ किलोमिटर मुख्य तथा सहायक लाइनको तार तानीएको प्राधिकरणको बेनी वितरण केन्द्रका इञ्जिनियर हेमराज चापागाइले बताउनुभयो ।

ताकमका साथै मुना हुदै लमसुङ र मुदी गाउँ नजिकैसम्म केन्द्रीय लाइनको पोल गाडेर तार तानिएको छ । यस वर्ष प्रदेश सरकारले धवलागिरी गाउँपालिकाको विद्युतीकरणका लागि रु. दुई करोड ८१ लाख बिनियोजन गरेको छ । धवलागिरी गाउँपालिकाको मराङको ७५ घरमा पनि गत हप्ता विद्युतीकरण भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: