गैसस महासंघमा दिपक पौडेल

बेनी, ८ कात्तिक । गैरसरकारी संस्था (गै.स.स) महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा दिपक पौडेल चयन हुनुभएको छ ।

बेनीमा शुक्रबार भएको शाखाको १८ औ साधारणसभा तथा नवौ अधिवेशनले संगम म्याग्दीका अध्यक्ष रहेका पौडेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा अमर बानिया, सचिवमा निरमाया मिजार, उपसचिवमा प्रकाश रेग्मी, कोषाध्यक्षमा ज्योति लामिछाने, सदस्यहरुमा विज्ञान सुवेदी, रञ्जना श्रेष्ठ, नेकसरा पुन,भिमबहादुर रिजाल (राजु) , बद्री पौडेल र कुमार थापा चयन हुनुभएको छ ।

साधारणसभाको अवसरमा पत्रकारिताको माध्यमबाट गैरसरकारी संस्थाको कार्यक्रममा सहयोग पु¥याएकोमा म्याग्दीकाली एफ. एम र टोड्के न्युज डटकमका अनिल पौडेललाई चार हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको थियो ।

संस्थाका सल्लाहकार मुक्तिप्रसाद ढुङ्गानालाई पनि प्रंशसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साधारणसभामा महासंघका महासचिव रामप्रसाद सुवेदीले संस्था दर्ता ऐन–२०३४ संसोधन गरेर समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।

महासचिव सुवेदीले सरकारले लिने अन्तर्राष्ट्रिय सहायतालाई पारदर्शी बनाउनुपर्ने माग गर्दै गैरसरकारी संघसंस्थालाई डलर खेती गर्ने भनेर आरोप नलगाउन चेतावनी दिनुभयो । उहाँले नेपालमा भित्रिने अन्तर्राष्ट्रिय सहायताको कुल रकममध्ये ८७ प्रतिशत सरकारले परिचालन गरेको बताउँदै १३ प्रतिशत मात्रै गैससहरुले परिचालन भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले दुर्गम क्षेत्रमा पुगेर गैरसरकारी संघसंस्थाहरुले काम गर्दै आइरहेको हुँदा यसका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आफ्नो कार्यक्रमसहित आउने गैससहरुलाई नगरपालिकामार्फत आवश्यक सहयोग गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष बिना सिलवाल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गैसस महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष विष्णु रोकामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष दिपक पौडेलको स्वागत र सचिव निरमाया मिजारको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: