असिनाबाट चार करोडको क्षति

बेनी, ५ कात्तिक । असोज तेस्रो साता म्याग्दीको तीन वटा वडामा परेको असिनाले चार करोड रुपैयाँ भन्दा बढीको क्षति पु¥याएको छ ।

बेनी नगरपालिका–२ भकुण्डे, सानालेक, फापरखेत, गौस्वाँरा, रात्माता, मंगला गाउँपालिका–१ थाइवाङ र ३ बरंजामा असोज २१ गते बिजया दशमीका दिन असिना परेको थियो ।

असिनाले ८५५ घरधुरी कृषकले पाँच हजार ६५७ रोपनी क्षेत्रफलमा लगाएको चार करोड एक लाख ४१ हजार ९०५ रुपैयाँ मूल्य बराबरको धान, कोदो र दलहनको क्षति गरेको कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज रोइरालाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले जिल्ला विपद् व्यवस्थापन समितिका पदाधीकारीहरुको समेत सहभागितामा नगरपालिका र गाउँपालिका तथा जनप्रतिनिधिहरुको सहयोगमा असिनाले गरेको क्षतिको स्थलगत अनुगमन गरि विवरण संकलन गरेको थियो ।

बेनी नगरपालिकाको २ नम्बर वडामा ४२० घरधुरी कृषकको दुई करोड १७ लाख, दुई हजार ६००, बरंजाका ३२० घरधुरी कृषकको एक करोड ३३ लाख ५८ हजार १६० र थाइवाङका ११५ घरधुरी कृषकको पचास लाख ८१ हजार ४५ रुपैयाँ मूल्य बराबरको खेतिबाली क्षति पुगेको कोइरालाले बताउनुभयो ।

दुई हजार ७४२.२ रोपनीमा धान, एक हजार ६८८.५ क्षेत्रफलमा लगाएको कोदो र एक हजार २२६ रोपनीमा लगाएको सिमी क्षति गरेको छ ।

संकलित विवरण एकिकृत गरी जिल्ला विपद् ब्यवस्थापन समितिको मंगलबारको बैठकबाट निर्णय गरि राहतका लागि मन्त्रालयमा पठाइएको कोइरालाले बताउनुभयो । केन्द्रका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि सहितको टोली असिना पिडित कृषकहरुको खेतबारीमै पुगेको थियो ।

पाकेर भित्र्याउने बेला भएको धान, कोदो, बोडी, सिमी लगायत खाद्यबाली, तरकारी र फलफुल असिनाले झारेपनि कृषकहरु निराश भएका छन् । असिना पिडित कृषकहरुले विउ र राहतको व्यवस्था मिलाउन माग गरेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: