बंगुर जोनमा ३३ वडालाई समेट्न सिफारिस

बेनी, ५ कात्तिक । बंगुरको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)मा म्याग्दीका ३३ वटा वडालाई समेट्न सिफारिस गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिपरियोजनाको जिल्ला आयोजना कार्यान्वयन इकाइले मंगलबार बेनीमा आयोजना गरेको छलफलबाट ३३ वटा वडालाई बंगुर जोनमा समेट्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई सिफारिस गरिएको हो ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाका सबै वडा, मालिका गाउँपालिकाको २ देखि ७, धवलागिरीको २, ३ र ७, रघुगंगाको १, २ र ३ तथा अन्नपूर्ण गाउँपालिकाको १, २, ३, ४ र ६ नम्बर वडालाई सिफारिस गर्ने निर्णय भएको परियोजनाका बरिष्ठ कृषि अधिकृत सुर्य बरालले बताउनुभयो ।

हाल एक हजार भन्दा बढी व्यवसायिक रुपमा बंगुरपालन गरिएको, बंगुरपालनको सम्भावना भएको, आहरा आपुर्ति र बजार नजिक भएको ठाउँलाई स्थलगत अध्ययन, प्राबिधिक समितिको प्रतिवेदन, कृषक, जनप्रतिनिधिहरुको परामर्शका आधारमा बंगुर जोनको क्षेत्र निर्धारणका लागि सिफारिस गरिएको परियोजनाका कृषि अधिकृत नारायण पौडेलले बताउनुभयो ।

सो कार्यक्रममा गण्डकी प्रदेशका सांसद बिनोद केसीले खाद्यान्न, तरकारि र पशुपंक्षि जन्य बस्तुको उपत्पादन वृद्धि गरेर आत्मनिर्भर गराउने सरकारको नीति भएको बताउदै परियोजनालाई वास्तविक कृषकले लाभ पाउने गरि प्रभावकारी रुपमा कार्यान्वयन गराउन सुझाव दिनुभयो ।

उहाँले कृषकहरुलाई वितरण गरिएका अनुदानका कृषि औजार बजार मूल्य भन्दा महँगो भएको, गत वर्ष आएको आधा बढी बजेट खर्च हुन नसकेर फिर्ता भएको र कृषक समूह तथा सम्बद्ध कार्यालयले सञ्चालन गरेका कार्यक्रम पारदर्शी नभएको विषयमा गुनासो आएको बताउदै त्यसलाई सुधार गर्न निर्देशन दिनुभयो ।

कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले ब्यवसायिक बंगुरपालनको विकास, मासु उत्पादन वृद्धि गरि आयात घटाउन र निकासीजन्य बस्तुको रुपमा विकास गराउन बंगुर जोनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत कृषक, राजनीतिक दल र जनप्रतिनिधिहरुले प्राबिधिक समितिले तयार पारेको प्रतिवेदनमा सुझाव दिनुभएको थियो ।

कार्यालयका नायव सुब्बा शिव शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुशमले बंगुरपालनको आवश्यकता, अवस्था र सम्भावनाको विषयमा जानकारी गराउनुभएको थियो ।

ब्यवसायिक बंगुरपालन विस्तार, व्यवस्थित गर्ने, उत्पादन वृद्धी र बजारीकरणमा सघाउने उद्देश्यले जोन स्थापना गर्न लागेको हो । हाल बेनी र बाग्लुङ नगरपालिका, जलजला, रघुगंगा, मंगला, मालिका र काठेखोला गाउँपालिकालाई समेटेर गत वर्षदेखि सुन्तला जोन कार्यक्रम सञ्चालन भएको छ ।

कृषि क्षेत्रको उत्पादन वृद्धी, शुसासन, बजारमा प्रतिस्पर्धा योग्य बस्तुको उत्पादनसंगै कृषिलाई उद्योगमा रुपान्तरण गर्ने जोनको मुख्य उद्देश्य रहेको छ । सिफारिस मन्त्रालयले अनुमोदन गरेपछि परियोजना कार्यान्वयनका लागि सुचिकृत भएका कृषकहरुबाट सञ्चालक समिति गठन हुने व्यवस्था छ ।

परियोजना लागू भएका ठाउँका कृषकहरुलाई कृषि उद्यम सञ्चालनका लागि पचास प्रतिशत सम्म अनुदान उपलब्ध गराउने ब्यवस्था छ । दश वर्ष सम्मका लागि लागु हुने कार्यक्रमबाट बंगुरको उत्पादन वृद्धी, पाठापाठी निकासी र आयात न्युनीकरण गर्ने लक्ष्य छ ।

यस वर्ष बंगुरको खोर सुधारका लागि ९० लाख, मासु पसल सुधार गर्न दश लाख र बधस्थल बनाउन तीस लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: