मराङमा सडक उद्घाटन

मराङ ४ कात्तिक । धवलागिरी गाउँपालिका–६ मराङ जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । मालिका गाउँपालिकाको अर्गला देखि मराङ जोड्ने सडकको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।

वि.स २०६९ मा मालिका गाउँपालिकाको बिममा पर्ने लुरवाङ देखि मराङ जोड्ने सडक निर्माण सुरु भएको थियो । लुरवाङ देखि अर्गला बेशी हुदै मराङको कुम्रि स्थित स्वास्थ्य चौकी सम्म ९ किलोमिटर र बेशी देखि आरवाङ हुदै मल्कवाङको कान्चे सम्म ८ किलोमिटर सडकको ट्याक खुलेको छ ।

सबै सडक निर्माणमा तत्कालीन जिविस, बिम र मराङ गाविस, सांसद विकास कोष, धवलागिरी गाउँपालिका र पूर्वाधार विकास कार्यालय, प्रवासी, स्थानीयबासी, वन समूह, आमा समूह र व्यक्तिहरुको छ करोड ४६ लाख ५१ ह्जार ५६० रुपैयाँ खर्च भएको उपभोक्ता समितिका पूर्व अध्यक्ष अमर पुनले जानकारी गराउनुभयो ।

कान्चेभिर पुगेको सडकलाई विस्तार गरेर मल्कवाङ हुदै पाखापानी र कुम्रिमा पुगेको सडकलाई ठूलोगाउँ, राम्चे, बुल, मलम्पार, मल्कवाङ जोड्ने योजना बनाइएको छ । सडक निर्माण भएपछि आवत जावत, ढुवानी र गाउँमा उत्पादीत सामग्री निकासीमा सहज भएको छ ।

सडक उद्घाटन पछि सांसद थापाले म्याग्दीमा विद्युत, खानेपानी र सडक विस्तार तथा स्तरोन्नतिका योजनामा प्राथमिकता दिएको बताउनुभयो । ‘अबको दुई वर्षभित्र गुर्जा बाहेक म्याग्दीका सबै बस्तिमा केन्द्रय प्रशारण लाइनको विद्युत सुबिधा पुग्छ । निजी धारा सहितको खानेपानी आयोजना निर्माण गर्छौ,’ थापाले भन्नुभयो ‘गाउँपालिकाको केन्द्र र वडा कार्यालय जोड्ने सडक स्तरोन्नति र पिच गर्ने योजना अघि सारेका छौ ।’

संबिधानसभा सदस्य नवराज शर्माले मराङ मल्कवाङ हुदै पाखापानी सडकमा जोडिएपछि चक्रपथ बन्ने र प्रदेश सरकार मार्फत अर्गला स्थित मराङ खोलामा मोटरेबल पुल निर्माण हुन लागेको जानकारी दिनुभयो । अर्गाला र बेशीको बिचमा रहेको भिरमा यस वर्ष ट्याक खुलेर नियमित गाडी चल्ने बनाउन पहल गर्ने बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भौतिक पूर्वाधार निर्माणसँगै मानवीय, सामाजिक र आर्थिक स्तर सुधारका कार्यक्रममा पनि जोड दिएको बताउनुभयो । उपाध्यक्ष रेशम छन्त्यालले सडक बनेपछि गाउँबाट सहरमा निकासी गर्ने गरी उत्पादन र आयआर्जनमा अग्रसर हुन स्थानीयलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको निजी सचिवालय सचिब याम गर्बुजा, मराङ–काठमाडौ सम्र्पक समाजका अध्यक्ष धनबहादुर गुरुङले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।


सडक निर्माणका लागि प्रवासमा रकम जुटाउने अभियानको नेतृत्व गर्नुभएका बेलायतमा बस्दै आउनुभएका पदम गर्बुजाले २०७१ चैतमा बेशीमा आयोजित कार्यक्रममा ७१ लाख रुपैयाँ सहयोग घोषणा भएपनि २४ लाख रुपैयाँ संकलन भएको, बीस लाख ५० हजार १११ रुपैयाँ उपभोक्ता समितिलाई सहयोग गरेको र चार लाख रुपैयाँ खातामा भएको जानकारी गराउनुभयो ।

‘त्यतीबेला घोषणा गरेकाहरुले पछि केही व्यक्तिहरुले नकारात्मक भूमिका निर्वाह गरेपछि बोलेको रकम दिनुभएन्,’ गर्बुजाले भन्नुभयो ‘हामीले सहयोग घोषणा गरेपनि राज्यले पनि पर्याप्त बजेट बिनियोजन गर्न थाल्यो र बाटो आयो । घोषणा गरेको रकम नउठ्दा दुखित भएपनि गाडी चढेर गाउँसम्म आउन पाउदा खुसी लाग्यो । बचत भएको रकम यहाँहरुको सल्लाहमा गाउँकै विकासमा खर्चन्छौ ।’

सडक निर्माण समितिका पूर्व सचिव श्रीप्रसाद गर्बुजाले सहयोग गर्ने घोषणा गरेका दिलबहादुर केसीले तत्कालीन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर गर्बुजा सहित छ जनालाई दुई÷दुई लाख रुपैयाँको ऋण दिएको तमसुक बनाएर अदालतमा मुद्दा हाली दुख दिएको स्मरण गराउदै त्यो ऋण मध्य १९ लाख बीस हजार रुपैयाँ गाउँले, वन समूह, आमा समूह र प्रवासीले उठाएर तिरेको जानकारी गराउनुभयो ।

जिल्लाका नेताहरुको समेत उपस्थिीति भएको समारोहमा चन्दा सहयोग गर्ने बोलेका केसीले शेरबहादुर गर्बुजा, दिलबहादुर गर्बुजा, बालकृष्ण सुवेदी, सन्तमान पुन, खिमबहादुर गर्बुजा र गमबहादुर लाम्गादेको नाममा ऋण दिएको तमसुक बनाएर गाउँलेलाई ऋणमा डुबाएको गर्बुजाले मन्तब्यका क्रममा जानकारी गराउनुभएको थियो ।

छ जनाको जग्गा लिलामी हुन लागेपछि गाउँलेले चार वर्षपछि चन्दा उठाएर केसीलाई ऋण तिरेका थिए । नेकपा धवलागिरी गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुवेदी र नेपाली काँग्रेसका कबिराज केसीले मराङमा पछिल्लो समय विकास निर्माणले फड्को मारेको बताउनुभयो ।

वडा अध्यक्ष राजाराम सुवेदीको अध्यक्षता, वडा सचिव बेदनाथ सुवेदी र स्थानीय केशव गर्बुजाको सञ्चालन तथा वडा सदस्य लोक पुनको स्वागतमा सम्पन्न कार्यक्रममा सडक निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । स्थानीयबासीहरुले पञ्चे बाजामा नाचगान गरेर खुसीयाली मनाएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: