त्रीचालीस प्रतिशत निजी आवास पुननिर्माण, कात्तिक भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने

 

बेनी, २ कात्तिक । म्याग्दीमा त्रीचालिस प्रतिशत भुकम्प पिडितले निजी आवास पुननिर्माण गरेका छन् । २०७२ बैशाखको भुकम्पका कारण घर भत्किएर राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग सम्झौता गरि पहिलो किस्ता अनुदान लगेका मध्य हालसम्म ३४६ जनाले आवास पुननिर्माण गरेका छन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वय इकाईका अधिकृत यज्ञप्रसाद रिजालले बेनीमा आयोजित कार्यक्रममा ८०३ जना लाभग्राहीले पचास हजार रुपैयाँका दरले पहिलो किस्ता अनुदान लगेका जानकारी दिनुभयो । ३९६ जनाले दोस्रो किस्ता लगेका छन् । पहिलो किस्ता लगेका मध्य २ जनाले अनुदान फिर्ता गरेका छन । ३७२ जना दोस्रो किस्ता लिन नआएका रिजालले बताउनुभयो ।

भुकम्पबाट कम प्रभावित जिल्लाको सूचिमा पर्ने म्याग्दीमा २०७३ चैतदेखि सम्झौता र २०७४ मंसिर देखि पिडितको खातामा अनुदान पठाएर निजी आवास पुननिर्माण सुरु गरिएको थियो । दोस्रो किस्ता वापत डिपिसी गरेपछि एक लाख पचास हजार र भवन बनाएपछि अन्तिम किस्ता वापत एक लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

प्राबिधिक आउनुअघि बनेका १४८ वटा घरका धनीलाई प्राधिकरणको पछिल्लो निर्णय अनुसार अनुदान उपलब्ध गराइने भएको छ । २०७३ पुषमा इञ्जिनियरहरु परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिएपनि ८४८ लाभग्राही पहिचान भएका थिए । छुटको गुनासो दर्ता गराएका ५३३ जना पिडितको घर गत जेठमा पुनःसर्वेक्षण गरिएको थियो ।

“पहिलो किस्ता लगेर घर पुननिर्माण सुरु गरि दोस्रो किस्ता लिनै नआएका लाभग्राहीका कारण पुननिर्माणले गति लिन नसकेको हो” रिजालले भन्नुभयो “पुननिर्माण नगर्नेलाई अनुदान फिर्ता गर्न ताकेता गरेका छौ ।” म्याग्दीका लाभग्राहीहरुका लागि पुननिर्माण र अनुदान लिने नयाँ समयतालिका जारी गरेको छ ।

२०७६ असार मसान्त सम्म पहिलो किस्ता लिएकाले २०७६ कात्तिक सम्म दोस्रो किस्ता, २०७६ माघ सम्म तेस्रो र गुनासो सम्बोधनबाट थपिएका लाभग्राहीले २०७७ असार सम्म अन्तिम किस्ता लिइसक्नुपर्ने समयसिमा बनाएको छ । प्रवलीकरण लाभग्राही र प्राबिधिक आउनु अगाडी बनेका घरका लाभग्राहीले २०७७ असार सम्म सबै किस्ता अनुदान लिइसक्नुपर्ने भएको छ ।

भुकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगंगा गाउँपालिका २ र अन्नपूर्ण गाउँपालिका ८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरि अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरिदका लागि थप दुई लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

प्राधिकरण मार्फत सञ्चालित १८.५४ किलोमिटर दुरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म १७.९५ प्रतिशत भौतिक प्रगति भएको छ । पोखरेबगर–पाउद्धार सडक अन्तरगत घारखोलामा मोटरेबल पुल निर्माणको योजना स्विकृत भएर ठेक्का प्रक्रियाको तयारी भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: