ब्याटिंग नचल्दा जिम्बाब्वेसंग नेपाल पराजित

सिंगापुरमा जारि त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा जिम्बाब्वेसंग ४० रनको हार बेहोरेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले यस अघि पहिलो खेलमा पनि जिम्बाब्वेसंग ५ विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो। सिरिज अन्तर्गत अन्तिम खेल बुधबार आयोजक सिंगापुरसंग खेल्नेछ। सिरिज जित्ने सम्भावना जीवित राख्न अब नेपालले सिंगापुरलाई पराजित गर्नुपर्नेछ भने सिंगापुरसंग जिम्बाब्वेले हारको कामना गर्नुपर्नेछ।

इन्डीएन एसोसीएसन मैदानमा जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्रै बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गर्यो। इशान पाण्डेको सट्टा ओपनिंग गर्न आएका पवन सर्राफ खाता नखोली आउट भए। दिपेन्द्र ऐरी ४ तथा अघिल्लो खेलमा शतक बनाएका पारस खड्का १२ रन बनाएर आउट भए।

२५ रन बनाएर एक किनार सम्हालीरहेका अरिफ शेख पनि आउट हुन पुग्दा नेपाल पुनः खेलमा फर्किन सकेन। त्यसपश्चात बिनोद भण्डारीले एक किनार सम्हालीरहेता पनि ठुलो सटहरु भने खेल्न सकेनन्। उनि क्रिजमा रहंदा अर्को किनारमा कुशल मल्ल ( ५ ) , सोमपाल कामि ( ७ ) पनि आउट भए।

करन केसी र बिनोद भण्डारीले सातौँ विकेटको लागि ३४ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। १० बलमा १ चौका र १ छक्का प्रहार गरेर करनले विकेट गुमाए। त्यस लगत्तै ओभरमा बिनोद भण्डारी पनि आउट भए। सन्दिप लामिछानेले अविजित ५ र अविनाश बोहराले अविजित ३ रन बनाए।

जिम्बाब्वेको बलिंगमा सन विलियम्सले सर्वाधिक ३ विकेट ( ४-०-२१-३ ) लिए। यस्तै टिनोटेन्डा मुटोमबोजीले २ विकेट ( ३-०-१२-२ ) लिए। यस्तै टेन्डाइ चतारा, ड्यानियल जाकिएल, विलियम मासिंगे र रायन बर्लले समान १/१ विकेट लिए।

जिम्बाब्वेको इनिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो।

जिम्बाब्वेको लागि कप्तान सन विलियम्सले सर्वाधिक ५३ रन बनाए। उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। रायन बर्लले अविजित २८, पिटर मुर्ले २१, टिनोटेन्डा मुटोमबोजीले २० तथा रिचमण्ड मुटुमबामीले १७ रन बनाए।

नेपालको बलिंगमा सन्दिप लामिछाने ( ४-०-२७-२ ) र सोमपाल कामिले ( ४-०-१५-२ ) समान २/२ विकेट तथा अविनाश बोहरा ( ४-०-२६-१ ) र पारस खड्का ( २-०-२६-१ ) ले १/१ विकेट लिए।

Leave a Reply

Scroll to Top
%d bloggers like this: