दशानायके फेरि नेपाल आउँदै, भैरहवा क्रिकेट टोलीको प्रशिक्षक हुने

चार वर्ष अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा सफल बनेका पुबुदु दशानायके पुन: नेपाल आउने भएका छन्।

तर यसपाली उनले राष्ट्रिय टोली नभई नेपालका व्यवसायिक टी-२० क्रिकेट एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भैरहवा ग्लाडियटर्स टोलीलाई प्रशिक्षण दिनेछन्।

भैरहवा ग्लाडियटर्सका मालिक आदित्य साँघाईले दशानायकेलाई लामो समयका लागि अनुबन्ध गरेको बताएका छन्।

उनले भने, “चर्चित क्रिकेट हस्तीलाई टोलीको अङ्ग बनाउन पाउँदा हामी गौरवान्वित छौँ। उनले फ्रेञ्चाइज क्रिकेटलाई मात्र होइन, नेपाली क्रिकेटका लागि नै नयाँ प्रतिभाहरु खोज्नेछन् भन्ने हामीलाई विश्वास छ।”

नयाँ भूमिका

भर्खरै मात्र उमेश पटवाल एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएकोले दशानायकेलाई तत्काल राष्ट्रिय टोलीमा फर्किने ठाउँ छैन।

नेपाललाई आफ्नो दोस्रो घर बताउने दशानायकेले नयाँ भूमिकामा आफू उत्साहित भएको बताएका छन्।

उनले भनेका छन्, “नेपाल सधैँ मेरो मुटु नजिक छ। म जुनसुकै भूमिकामा पनि नेपाली क्रिकेटमा सहयोग गर्न चाहन्छु।”

इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि पराजित भएको भैरहवाले दशानायकेलाई छोटो अवधि नभई लामो अवधिका लागि हेर्ने जिम्मा दिन खोजिएको छ।

भैरहवा ग्लाडियर्सका कप्तान शरद भेषावकरले बीबीसी न्यूज नेपालीसँग भने, “दशानायकेको आगमनले छुट्टै रोमाञ्च दिएको छ।”

“हामीले लगातार दुई वर्ष फाइनलमा पुगेर रोकियौँ। अब च्याम्पियन बन्ने विश्वास छ। ”

इपीएलको नयाँ संस्करण आगामी फेब्रुअरीबाट शुरू हुनेछ। प्रतियोगिता शुरू हुनु एक महिना अगाडि उनी नेपाल आइपुग्नेछन्।

उनको पारिश्रमिक भने खुलाइएको छैन।

को हुन् दशानायके?

श्रीलङ्कामा जन्मेका क्यानडाली नागरिक ४९ वर्षीय दशानायके सन् २०११ देखि चार वर्ष नेपालको प्रशिक्षक थिए।

सन् २०११ मा क्यानडालाई विश्वकपसम्म पुर्‍याएका उनको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ऐतिहासिक उपलब्धिहरू प्राप्त गरेको थियो।

उनको आगमनसँगै नेपाली खेलाडीहरूले पनि नयाँ शैलीमा क्रिकेट खेल्न थालेको बताइन्छ।

उनी अगाडि लामो समय प्रशिक्षक रहेका रोय डायसले खेलको परम्परागत तरिकामा रहेका खेलाइ रहेको थिए तर उनले खेलाडीहरूलाई खुलेर खेल्न र प्रतिभा अनुसार खेल्न मद्दत गरेका थिए।

उनको प्रशिक्षणमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ र डिभिजन ३ को उपाधि जित्दै डिभिजन २ सम्मको पुगेको थियो।

उनकै नेतृत्वमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो, जहाँ नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।

त्यसपछि नेपालले टी-२० राष्ट्रको मान्यता पाएको थियो।

सबैभन्दा चर्चित नेपाली खेलाडी सन्दीप लामिछाने दशानायकेकै खोज हुन्।

विवादबीचको सफलता

तर उनको कार्यकालमा नेपाल क्रिकेट सङ्घ भने अस्थिर रुपमा चलिरहेको थियो।

तत्कालीन क्रिकेट सङ्घमा बढेको विवादका कारण दशानायकेको करार थपिने समय गुज्रिने भएपछि कप्तान पारस खड्का सहितका खेलाडीहरुले उनी नभए राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका थिए।

त्यसपछि नेपाल सरकारले नै तलब ब्यहोर्ने गरी उनलाई नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो।

यद्यपी नेपाली क्रिकेटको नेतृत्व विवाद सुल्झिने छाँटकाँट नदेखिएपछि उनले सन् २०१५ मा नेपाल छोडेका थिए।

नेपाल छोडेपछि उनले अमेरिकाको प्रशिक्षक बने र चार वर्ष अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाए। त्यसपछि उनले त्यहाँबाट राजीनामा गरेका थिए।

बीबीसी नेपाली सेवा

Leave a Reply

Scroll to Top
%d bloggers like this: