नेपाल एअरलाइन्सको जापान उडानको तयारी पूरा, जनवरीदेखि टोकीयोमा पनि उडान भर्ने तीव्र तयारी ।

काठमाण्डौ – नेपाल वायुसेवा निगमले २९ अगस्ट अर्थात भदौ १२ गतेदेखि जापानको ओसाका उडानको सबै तयारी पूरा भएको जनाएको छ ।

नेपाल वायु सेवा निगमको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर निगमका अध्यक्ष मदन खरेलले भदौ १२ देखि निगमको वाइडबडी जहाजले जापानको ओसाका उडानको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

‘हाम्रो सबै तयारी पूरा भएको छ, निगमको वाइडबडी जहाजले ओसाका उडान गर्नेछ’, अध्यक्ष खरेलले भन्नुभयो । ओसाका व्यापारिक हिसाबले उत्कृष्ट नभए पनि छिटो अनुमति पाउने भएकाले आवेदन दिएको र अनुमति पाएको पनि निगमले जनाएको छ ।

निगमले ओसाकामा हप्ताको ३ वटा उडान गर्नेछ । पहिलो उडानका लागि १५० को हाराहारीमा टिकट बुकिङ भएको र अगस्ट, सेप्टेम्बरमा यात्रु बढाउन संघर्ष नै गर्नुपर्ने निगमले स्वीकार गरेको छ । निगमका कमर्सियल डाइरेक्टर टंक दाहालले सेप्टेम्बरपछि भने यात्रु बढ्ने दाबी गर्नुभयो ।

निगमले आउँदो जनवरीदेखि टोक्योको नारिता विमानस्थलमा उडान गर्ने गरी तयारी भैरहेको पनि जानकारी दिएको छ । ओसाका उडान गर्दा यात्रु नपाउने र उडान घाटामा रहने आलोचना भैरहेको छ  । त्यसैलाई मध्यनजर गर्दै निगमले नारिता उडानलाई प्राथमिकता दिएर आवेदन दिएको र अनुमति पाउनेमा निगम आशावादी छ ।

साभार :  उज्यालो अनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: