नारायणगढ-बुटवल सडक विस्तारले गति लिँदै,गैँडाकोट-दाउन्ने क्षेत्रका २२ कल्भर्ट निर्माण

वैशाख २१ । विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै प्रकारका कानुनी अड्चनको निराकरणसँगै राजमार्गको सो खण्डको विस्तार कार्यले गति लिएको हो ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य अगाडि बढाउन अब कुनै पनि कानुनी वा व्यावहारिक बाधा अड्चन नरहेको जानकारी दिनुभयो । उहाँले अवरोध हटिसकेकाले विस्तार कार्यले गति लिई काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति सात प्रतिशत छ । सरकारले पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने काम यसै खण्डबाट सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते राजमार्गको सो खण्डको विस्तार कार्यको शिलान्यास गर्नुभएको थियो ।

आयोजनाका अनुसार अहिलेसम्म रुख कटानको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । निकुञ्ज क्षेत्रमा शतप्रतिशत रुख कटान सम्पन्न भइसकेको छ भने वन क्षेत्रमा १० प्रतिशत कटानको काम बाँकी छ । विस्तारका क्रममा झन्डै ११ हजार रुख काटिनेछ । यस क्षेत्रमा छवटा वन क्षेत्र छन् ।

कोरोना महामारीबीच स्वास्थ्य मापदण्ड अपनाएर अहिले विस्तार कार्यमा दैनिक एक हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको प्रमुख दिष्टीको भनाइ छ । गैँडाकोट–दाउन्ने सडकखण्ड तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा कल्भर्ट निर्माणको काम सम्पन्न भएको जानकारी उहाँले दिनुभयो ।

प्रमुख दिष्टीका अनुसार अहिलेसम्म २२ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी गैँडाकोट क्षेत्रका पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरी १२ वटा ठूला पुल निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ ।

निर्माणाधीन पुलहरूको ‘पाइलिङ’को काम सम्पन्न भई जग ९फाउन्डेसन०को काम भइसकेको जानकारी उहाँले दिनुभयो । राजमार्ग विस्तारका क्रममा कुल १२ वटा ठूला पुल र २२ वटा साना पुल निर्माण गर्नुपर्ने देखिएको छ ।

त्यसैगरी अहिले सञ्चालनमा रहेको सडकको दायाँबायाँ माटो ‘फिलिङ’ र ‘कटिङ’को काम भइरहेको छ । गैँडाकोटदेखि चोरमारासम्म माटो भर्ने काम सम्पन्न भइसकेको जानकारी उहाँले दिनुभयो । यो क्षेत्रमा रुख कटानको काम सम्पन्न भइकेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: