भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा छ महिनादेखि थन्कियो अटो एक्स्ट्राक्सन मेशिन

चितवन, वैशाख २१ ।
कोभिड १९ को आशंकामा चितवनमा स्वाव परीक्षणको संख्या बढिरहेको छ । संक्रमित बढेसँगै स्वाव पनि थपिदै गएको हो । संक्रमणको जोखिम बढ्दै जाँदा स्वाव बढ्ने निश्चित हुँदा केन्द्रीय मातहतको भरतपुर अस्पताल अन्तर्गत रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा अटो एक्ट्राक्सन मेशीन ल्याएको छ महिना हुँदापनि संचालनमा ल्याइएको छैन ।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिदा त्यसको चाप भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परेको छ । वीचमा संक्रमण कम भएपछि कर्मचारी घटाइयो तर अहिले दैनिक स्वावको संख्या बढिरहदा न त कर्मचारी थप गरिएको छ न प्रयोगशालामा ल्याइएको आरएनए अटो एक्स्ट्राक्सन मेशीन जडान गरिएको छ ।

जसको मारमा प्रयोगशालाका कर्मचारीहरु परेका छन् भने सेवाग्राहीले पनि अघिल्लो दिन दिएको स्वावको रिपोर्ट भोलिपल्ट मात्रै पाउने गरेका छन् । दैनिक २ सय बढि स्वाव आउन थालिसकेको प्रयोगशालाका कर्मचारीहरु भोलिपल्ट रिपोर्ट दिनका लागि राति १२ बजेसम्म काम गर्नुपर्ने वाध्यतामा छन् । प्रयोगशाला भित्र काम गर्ने जम्मा ५ जना मात्रै प्राविधिक छन् भने सुरक्षा गार्ड सहित सात जना कार्यरत रहेका छन् । राति १२ बजे काम सकेर कोठामा जाँदा घरवेटीले ढोका नखोलिदिने सम्मको समस्या भोगेर सेवा दिइरहेको प्रयोगशालाका प्रमुख मणिराम महतोले बताउनुभयो ।

केन्द्रीय मातहतको भरतपुर अस्पतालले प्रवाह गर्ने सेवालाई छिटो छरितो बनाउन र माथिका समस्या समाधान गर्न स्वास्थ्य विभागको आपूर्ति महाशाखाले आरएनए अटो एक्स्ट्राक्सन मेशीन मंसिरमै उपलब्ध गराएको हो । तर उक्त मेशीन अस्पतालले अहिलेसम्म प्रयोगमा ल्याएको छैन । जस्तो ल्याइएको थियो त्यस्तै राखिएको छ । उक्त मेशीन प्रयोगमा नआउँदा मानविय जनशक्तिले नै स्वावको एक्स्ट्राक्सन गर्नुपरेको छ । यो नै ढिलाईको मुख्य कारण भएको महतो बताउनुहुन्छ । यदी मेशीन जडान भएमा अहिलेकै जनशिक्तीले दैनिक ५ सय स्वाव सम्म परीक्षण गर्न सक्नेछन् तर अहिले दिनरातगरी २ सय स्वाव सम्म परीक्षण गर्न सकिएको महतको भनाई छ ।

जिल्लामा तीन वटा कोरोना परीक्षण प्रयोगशाला छन् । तर धेरै चाप यही प्रयोगशालालाई पर्ने गरेको छ । त्यसैले कोभिड १९ को पहिलो चरणमै पशुपक्षि तथा अन्वेषण प्रयोगशाला भरतपुरको भवनमा रामपुर क्याम्पसबाट मेशीन ल्याएर कोभिड १९ परीक्षण प्रयोगशाला स्थापना गरिएको थियो । तर अहिले आफ्नै भवन र मेशीन आएको यतिका समय हुँदा पनि संचालनमा ल्याइएको छैन । भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा जगन्नाथ तिवारीले भने अस्पतालको भवनमै एक महिनाभित्र उक्त मेशीन जडान गरी सेवा दिने दावी गर्नुहुन्छ ।

टेण्डर स्वीकृत भइ मेशीन सेटअप गर्ने पक्षसँग सम्झौता गर्ने तयारी भइरहेको उहाँको भनाई छ । फैलदो संक्रमण नियन्त्रणका लागि जिलमा वैशाख १६ गते राित १२ बजेदेखि निषेधाज्ञा जारी छ । एकातिर परीक्षणको दायरा बढाउँदै स्वाव परीक्षण गर्नुपर्ने वाध्यता अर्कोतर्फ अहिले प्रयोगशाला भएको कार्यालयका काम प्रभावित भइरहदा उपलब्ध भइसकेको मेशीन चाँडै जडान गरी छिटो छरितो सरकारी सेवा प्रवाहमा तदारुकता देखाउदै मानविय जनशक्तिलाई पनि आरामको समय दिन जरुरी देखिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: