आज प्रतिनिधिसभा बैठक बस्दै

फागुन २३ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पौष ५ को कदम सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएपछि प्रतिनिधि सभा बैठक आज बस्दैछ ।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन आजदेखि सुरु हुन लागेको हो । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको थियो । सोही अनुसार संसद सचिवालयले पनि बैठकको तयारी पुरा गरेको छ । कोभिड १९ को संक्रमण कायमै रहेकाले भौतिक दुरी कायम सहित कुर्चि मिलाइएको छ ।

आजको बैठकलाई चासोका साथ हेरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को आधिकारिकताका विषयमा विवाद भई दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेत घोषणा गरिहेको अवस्थामा हुन लागेको अधिवेशनलाई अरू राजनीतिक दल र आम जनताले निकै चासोका साथ हेरिरहेका हुन्।

सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।

यसअघिका अधिवेशन जस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: