१० लाख कोरोना डोज खोप नेपालमा

फागुन १० । भारतले अनुदानमा दिएपछिको पहिलो पटक नेपाल सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको उक्त कोभिशिल्ड खोप एयर इन्डियाको विमानबाट नेपालमा ल्याइएको हो ।

सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोपबाटै नेपालमा माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । अहिले खरिद गरेको थप १० लाख डोज खोप उपलब्ध भएपछि अभियान निरन्तर चल्ने भएको छ र सरकारले समुदायस्तरमै पुगेर नागरिकलाई खोप दिनेछ ।

अनुदानमा प्राप्त १० लाख खोपबाट शनिबार साँझसम्म ४ लाख २ हजार जनाले खोप लगाएका छन् । अब फागुन २३ गतेदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र सार्वजानिक यातायातमा कार्यरत कर्मचारीलाई खोप दिने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्रिपरिषदको बैठकले ५५ वर्षमाथिका नागरिकलाई दोस्रो चरणमा खोप दिने निर्णय गरेको थियो, मन्त्रालयले ६० वर्षमाथिकालाई मात्र अहिले खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ । करिब २७ लाख जेष्ठ नागरिकहरुलाई खोप लगाउने मन्त्रालयले योजना बनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: