सरकार तीन वर्ष पुगेको दिन आज प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

फागुन ३ । बर्तमान केपी शर्मा ओली सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन बर्ष पहिले २०७४ साल फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको हो ।

झण्डै दुई तिहाई बहुमत पाएको सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा राखेर पूर्वाधार विकास , सामाजिक न्याय सहित समतामूलक समाज निर्माण एवं आर्थिक क्रान्ति सहित सरकारले नीति तथा कार्यक्रम अघि सारेपनि अपेक्षित नतिजा नहुँदा जनतामा निराशा छाएको छ। यो अवधिमा न त कुनै ठूला उद्योगको स्थापना भए न भएका पुराना उद्योग चल्न सके ।

दुई तिहाइ नजिकको सरकार पायो भनी जनताले आशा राख्दा उल्टै प्रतिनिधि सभा भंग गरेर सरकार आफैले अस्थिरता जन्माएको छ । तर यो वीचपनि कालापानी, लिपुलेक र लिम्पियाधुरामा अतिक्रमित भएको नेपालको भूमी समेटिएको नयाँ नक्शा राष्ट्रिय सहमतिमा जारी भएको भने छ । नेपालको अखणडता र स्वाधिनताको पक्षमा सरकारले गरेको यो एक ऐतिहासिक काम थियो । भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । तर अझै बजेट पर्याप्त नपाएको गुनासो जिल्ला तहका कार्यान्वन इकाईले भनिरहेका छन् ।

रेलमार्ग तथा सडक पूर्वाधार लगायत राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणकार्य अघि बढेपनि रेल ल्याएर त्रिपालले छोपिएको छ । जेष्ठ नागरिकको सम्मान तथा किसान मजदुर वर्गको हितका लागि सामाजिक सुरक्षा कार्यक्रम अघि सारिएको छ । नेपालको विद्युत निर्यात गर्न विद्युत प्रसारण केन्द्रहरको विस्तार लगायत भष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने दिशामा भईरहेका कामहरुको आधारमा सरकारको तीन बर्षलाई हेर्नुपर्ने देखिन्छ ।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन बर्षमा गर्दै आएको काम र प्राप्त उपलब्धीकाबारे आज देशवासीका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भर्खरै प्रवलीकरण पश्चात पुनस्थापित गरिएको सिंहदरवारस्थित पुरानै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज विहान ११ बजे सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: