बलात्कारपछि हत्या गरिएको भागरथीको शव अस्पतालमै,अझै पत्ता लागेन बलात्कारी र हत्यारा

माघ २८ । बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टका क्रममा उक्त कुरा पत्ता लागेको हो ।

तर अझै पनि हत्यारा पत्ता लगाउन प्रशासनले सकेको छैन। उनको शव अझै अस्पतालमै छ । घटनाको दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान लिएका छन् । माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ हत्या भई बीभत्स अवस्थामा शव फेला परेको थियो । शव स्थानीयले देखेर प्रहरीलाई खवर गरी नजिक गएर हेरेपछि भागरथीकै शव भएको पत्ता लागेको थियो । शब फेला परेको आज ७ दिन भइसक्दासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।

दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्ट बताउनुहुन्छ । भागरथीको शवलाई अब काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । उनको ‘बलात्कारपछि घाँटी थिचिएको पोष्टमार्टमा रिपोर्टबाट देखिन आएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले मंगलबारसम्म अनुसन्धानकै क्रममा रहेको र अहिलेसम्म कसैलाई नियन्त्रणमा पनि नलिएको जानकारी दिनुभयो  । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदीसहित एसएसपी जनक पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । धनगढीबाट ल्याइएको तालिमप्राप्त कुकुर पनि अनुसन्धानमा प्रयोग भइरहेको छ ।

दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा १२ कक्षामा पढिरहेकी भागरथीको शव गत बिहीबार खोचलेक–चडेपानी ग्रामीण सडक खण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल वनमाराको झाडीमा फेला परेको थियो । सोमबार आएको पोस्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ । सवै कुरा स्पष्ट हुँदा सम्म अपराधि पत्ता लगाउन ढिलाई गरेको भन्दै आफन्त सहित नागरिकहरु आक्रोशित भएका छन् । यसैविच हत्या घटनाको विरोधमा विद्यार्थीले दिनहुँ प्रदर्शन गर्न थालेका छन् । मंगलबार पनि सुदूरपश्चिम एकेडेमी कलेजको नेतृत्वमा विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना, नाराबाजी, चक्काजाम गरे । उनीहरूले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

विद्यालय पोसाकमै सहभागी उनीहरूले करिब ४ घण्टा मुख्यमन्त्रीको गेटअगाडि धर्ना दिएका थिए । उता घटनाका दोषीलाई कानूनबमोजिम कारवाहीको माग गर्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन समेत भईरहेका छन् । यद्यपि प्रहरीले शंकाको घेरामा रहेका दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको जनाएको छ । तर सार्वजनिक भने गरेको छैन । गत २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको थियो। भोलिपल्ट उनको शव उखुबारीमा भेटिएको थियो। तर अहिलेसम्म अपराधी पक्राउ पर्न नसकेका कारण भागरथीको घटनामा पनि सोही घटनाको पुनरावृत्ति हुने त होइन भन्ने चौतर्फी चासो र चिन्ता थपिएको छ ।

भागीरथी हत्याकाण्डको विरोधमा सेलिब्रेटीहरुले पनि आक्रोश व्यक्त गरेका छन् । हालै महानायिकाको उपाधि पाउनुभएको करिष्मा मानन्धरले केही पुरूषहरूको मानसिकतामा यौन अपराध थुप्रिएकाले बारम्बार यौन अपराध भइरहेको टिप्प्णी गर्नुहुन्छ ।

May be an image of 1 person
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले यो एक विकराल सामाजिक समस्या भएको भन्दै यसलाई समयमै समाधान गर्नु जरूरी रहेकोमा जोड दिनुभयो। त्यस्तै अर्की नायिका नीता ढुंगानाले पुरूषहरूले महिलालाई सधै कमजोर र लाचार सोच्ने गरेको उल्लेख गर्नुभयो । यस्तै अर्की नायिका केकी अधिकारीले नायिका करिष्मा मानन्धरकै पोष्ट शेयर गर्दै घटनाको विरोध गर्नुभयो । यस्तै नायिका ऋचा शर्माले दोषिलाई कारवाहीको माग गर्नुभयो ।

हास्यकलाकार केदार घिमिरेले पनि बलात्कारी र हत्यारा पक्राउ नपरेसम्म भागरथीले न्याय नपाउने भन्दै जनदबाब बलियो बनाउनुपर्ने बताउनुभयो । यस्तै सेलिब्रेटी कार्यक्रम प्रस्तोता रवी लामिछाने पनि घटनास्थलमा पुगेर अपराधीलाई यथाशिघ्र पक्राउ गरी कारवाही गर्न माग गर्नुहुन्छ । लामिछानेले छोरीचेलीहरुको जीवन रक्षाका लागि समाजले महत्वपूर्ण भूमिका निभाउनुपर्ने पनि बताउँदै न्यायका लागि आवाज बुलन्द पार्न आग्रह गर्दै भागीरथीको हत्यारा कहिले पत्ता लाग्छ भन्दै प्रश्न गर्नुभएको छ ।

सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्यनरत १७ वर्षीया भागरथीको माघ २१ गते स्कूलबाट फर्कने क्रममा बलात्कारपछि हत्या भएको खुलेको छ । उनी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा रहेको लवलेक सामुदायिक वनमा उनको शव भेटिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: