विकूले १५ प्रतिशत लाभांश वितरण गर्ने, ३१ औँ वार्षिक साधारण सभा सम्पन्न

मंसिर २०, गैंडाकोट । कोभिड १९ को प्रभावकाबीच विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उपस्थिति तथा निर्णय एकिकृत एवम् ३१ औँ वार्षिक साधारण सभा समापन समारोहमा सो जानकारी दिईएको हो । शनिबार अमरापुरीमा भएको समापन समारोहमा बोल्दै विशिष्ट अतिथि विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले विकू एउटा ब्रान्ड बनिसकेको बताउँदै यो एउटा संस्कार र अभियान समेत रहेको बताउनुभयो । उहाँले विकूको उत्कृष्टता देखेर सोही नाम राखी संस्था स्थापना गरेका प्रशस्त उदाहरण समेत भेटिएको बताउनुभयो ।

विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले यहि मंसिर ५ गतेदेखी शुरु भएको साधारण सभाका क्रममा आएका सुझावलाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रममा समावेश गरि अघि वढ्ने बताउनुभयो । विकूलाई एउटा पाठशालाका रुपमा स्थापित गरिने उहाँले बताउनुभयो । कार्यक्रममा विकूका सचिव प्रेमप्रसाद सापकोटा राजुले २६ प्रकारका वित्तीय र ४३ प्रकारका गैरवित्तीय कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष कालिदाश गौडेलले चालु आर्थिक वर्षका लागि ७ अर्ब १४ करोड ६८ लाख ४२ हजार १ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । विकूले अघिल्लो वर्ष १९ करोड १ लाख ८२ हजार ८ सय ७७ रुपैयाँ सञ्चालन मुनाफा गर्न सफल भएको उहाँले बताउनुभयो । लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदीले गत आर्थिक वर्षमा सत प्रतिशत कार्य सम्पन्न गर्नु खुसीको कुरा रहेको बताउँदै १७ वुँदामा विभिन्न सकरात्मक सुझाव पेश गर्नुभएको थियो । साधारण सभाले प्रस्तावित योजना, बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । त्यस्तै संस्था एकिकरण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

विकूले वार्षिक प्रतिवेदन एफएम, टेलिभिजन, युट्युब, संस्थाको वेभसाइट तथा सामाजिक सञ्जाल मार्फत सुन्न, पढ्न र हेर्न सकिने गरि व्यवस्था मिलाएको थियो । सामाजिक सञ्जाल मार्फत ४३ हजार, युट्युबमार्फत हेर्ने १ लाख १४ हजार, सेवा केन्द्रमार्फत ३४ हजार उपस्थित जनाएको र गणपुरक सङ्ख्या पुगेपछि साधारण सभा समापन समारोह गरिएको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा विकूका पूर्व अध्यक्ष हरिलाल सापकोटा, गैंडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा, भरतपुर महानगरपालिका २ का वडाअध्यक्ष पूर्णबहादुर श्रेष्ठ, देवुचुली १० का वडा अध्यक्ष केशर आले, देवचुली १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्री, विकूका चोरमारा सेवा केन्द्र संयोजक केदार पराजुली, नव लुम्बिनी सेवा केन्द्र संयोजक गणेशमान महतो लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विकूको उत्कृष्टता कायम राखिरहन आग्रह गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा स्मृति कंडेल, सरस्वती घर्ती, सुरक्षातर्फ बिब्यराज तिवारी र उत्कृष्ट ईन्चार्ज किरण सापकोटालाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट सेवा केन्द्र व्यवस्थापन (फाईब एस) तर्फ कालिगण्डकी सेवा केन्द्र, सर्वोत्कृष्ट सेवा केन्द्रमा अमरापुरी, नव लुम्बिनी र चोरमारा सेवा केन्द्र घोषणा भएका थिए । विकूले १९ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । संस्थामा ८० हजार सेयर सदस्य, ६० करोड सेयरपुँजी, ३५ करोड जगेडा कोष र ६ अर्ब ५५ करोड कुलपुँजी रहेको छ ।

कोरोना भाइरसको संभावित संक्रमणको जोखिमका कारण सहकारी विभागको परिपत्र अनुसार सुरक्षाको मापदण्ड अपनाइ फरक तरिकाले वार्षिक साधारण सभाको आयोजना गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: