कोरला नाका सञ्चालनका लागि नेपालको तयारी सुस्त (भिडियो सहित)

कोरला (मुस्ताङ), १५ कात्तिक । चिनको सिमानामा रहेको मुस्ताङ स्थित कोरला नाका सञ्चालनको चर्चा भएपनि पूर्वाधार तयारीमा ढिलाई भएको छ । चिनले आफ्नो भुगोलमा धमाधम पूर्वाधार तयार पारेपनि नेपालतर्फको तयारी सुस्त छ ।

नेपालतर्फ पहुँचमार्ग, भन्सार, बन्दरगाहा, सुरक्षा निकाय, अद्यागमनसंग सम्बन्धित पूर्वाधारको अभाव छ । चिनले ढोङ्वासेनको बजार देखि कोरला नाका सम्मको सडक कालोपत्रे गरेको छ ।
दशगजाको नजिकै चिनको भुगोलतर्फ भन्सार, अद्यागमन र सुरक्षा निकायको लागि एक वटा भब्य भवन बनाइसकेको छ । अर्को भवन बनाइरहेको छ । नाकामा चिनीय सुरक्षाकर्मीको नियमित उपस्थिति हुन्छ ।

चिनतर्फको सिमानामा काडेतार लगाएको छ । नेपालतर्फको सिमाना खुल्ला छ । कच्चि सडक बाहेक कुनै पूर्वाधार छैन् । ‘नेपालमा कोरला नाका खोल्ने चर्चा भएजति काम भएन्,’ लोमान्थाङका ज्ञानेन्द्र बिष्टले भन्नुभयो ‘पूर्वाधार तयार नभएसम्म नाका सञ्चालनमा चुनौति छ ।’ नेपाल तर्फ छोसेर देखि २४ नम्बर पिल्लर सम्मको सडक विस्तार र ग्राभेल गर्ने बाहेक नाका क्षेत्रमा अन्य पूर्वाधार निर्माण भएको छैन् । २१ वर्षपछि २०७३ मा कोरला देखि दश किलोमिटर नेपालतर्फ नेचुङ भन्सार पुनस्थापना भएको थियो ।

नेचुङ भन्सार र प्रहरी चौकीमा जनशक्ति, पूर्वाधार, स्रोत र साधनको अभाव छ । नेचुङ भन्सार कार्यालयका सहयोगी शिवशरण गिरिले अन्तरदेशीय ब्यापार मेला हुदाँ राजस्व उठ्ने गरेको बताए । गत हप्ता नेचुङ पुग्दा भन्सारमा सहयोगी गिरी मात्र हुनुहुन्थ्यो । ‘अन्य समय काम हुदैन्, ब्यापार मेलामा निकासी र आयात हुने सामानको बिल हेरेर राजस्व उठाउँछौ,’ उहाँको भनाई थियो । कोरला नाका समुन्द्रि सतहदेखि चार हजार ७०० मिटरको उचाइमा छ ।

कोरलादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा एक हजार २१७ रोपनी जग्गा व्यवस्थापन गरि गत वर्ष नेपाली सेनाको क्याम्प राखिएको थियो । नाका सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको क्याम्प अहिलेसम्म सदरमुकाम जोमसोममै छ । कोरला नाकाको प्रवेशद्धार मानिएको म्याग्दीको गलेश्वरमा गत वर्ष शसस्त्रको अर्को बेस क्याम्प राखिएको थियो ।

१८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ वटा प्याकेजमा आयोजना सञ्चालन भएको छ । सडक विस्तार, कालोपत्रे र मोटरेबल पुल निर्माणको काम सुस्त छ ।

१८ किलोमिटर दुरीको छोसेर–कोरला खण्डको सडक स्तरोन्नति गत वर्षनै सकिएको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । जोमसोम–छुसाङ खण्ड पनि अन्तिम चरणमा पुगेको छ । छुसाङको कालीगण्डकी र जोमसोम–कागबेनी खण्डको पाण्डा खोलामा हालै मोटरेबल पुल बनेको छ ।

बेनी–नारच्याङ पुल र चराङ–छोसेर खण्डको काम सबैभन्दा सुस्त छ । बेनी–जोमसोम खण्डका ठेकेदार कम्पनिले बर्षा सुरु भएयता काम गरेका छैनन् । आयोजना प्रमुख अधिकारीका अनुसार समग्रमा ६० प्रतिशत भौतिक प्रगति छ । जिर्ण, कच्चि, ग्रेड र घुम्ति नमिलेको सडक जोखिमपूर्ण भएको जिप चालक झलक पाइजाले बताउनुभयो ।

लोमान्थाङका वडा अध्यक्ष रिनजिन दोर्जे बिष्टले नाका सञ्चालनका लागि पहुँच मार्गको स्तरोन्नति र सिमामा राज्यको उपस्थिति हुनुपर्ने बताउनुभयो । कोरला नाकाको विषयमा चर्चा भएजस्तो काम हुन नसकेको बिष्टले गुनासो गर्नुभयो ।

‘चिनले धमाधम पुर्वाधार बनाएको छ । नेपाली भुगोल सुनसान हुदा दुखित छौ,’ उहाँले भन्नुभयो ‘सिमानामा नेपालको उपस्थिति देखाउन यस वर्ष प्रवेशद्धार बनाउन गाउँपालिकाले एक करोड दश लाख छुट्टाएका छौ ।’

वि.स २०३२ सालमा सुरु भएको कोरला नाकामा खम्पा बिद्रोहपछि समस्या सृजना भएको थियो । एक चिन नीति बिरोधी गतिबिधीलाई रोक्न चिनीया पक्षले आवत जावतमा कडाई गर्दै आएको छ ।

तिब्बतको ढोङवासेन र उपल्लो मुस्ताङका ब्यापारीहरुले अन्तरदेशीय ब्यापार मेला आयोजना गरेको अवस्थामा वर्षमा २ पटक मात्रै कोरला नाका खुल्ला हुन्छ । चिनीया भूगोलमा लाग्ने मेलामा लोमान्थाङ र दामोदर कुण्ड लोघेयकर गाउँपालिकाका बासिन्दा परिचय पत्रको आधारमा जान आउन पाउँछन् ।

सन २००३ मा प्रस्ताव गरिएको कोरला नाका खोल्ने बिषयमा २०६८ माघमा तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र चिनका प्रधानमन्त्री वेन जिया वाओबीच सम्झौता भएको थियो ।

चिनका राष्ट्रपति सि जिफिङको नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीको चिन भ्रमणका क्रममा कोरला लगायत उत्तरी नाका खुलाउने विषयलाई नेपालले बार्ताको कार्यसूचिमा राखेको थियो । नाकामा पूर्वाधार बनाउन हालै एक हजार तीन सय रोपनी जग्गा प्राप्ती भएको दामोदर कुण्ड लोघेयकर गाउँपालिकाका अध्यक्ष राजु बिष्टले बताउनुभयो ।

कुटनीतिक पहलसँगै नाकामा शसस्त्र प्रहरीको क्याम्प राख्ने तयारी भएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । ‘पहुँचमार्ग स्तरोन्नितिलाई तिब्रता दिन निर्माण ब्यवसायी, आयोजना र मन्त्रालय तहसम्म ताकेता गरेका छौ,’ तुलाचनले भन्नुभयो ‘दुईदेशीय उच्च स्तरीय भ्रमणका क्रममा छलफलको विषय बनेको कोरला नाका खुलाउन पूर्वाधार तयारीलाइनै जोड दिएका छौ ।’

चिनको सुरक्षा चासोप्रति गम्भिर भएर एक चिन नीति बिरोधी गतिबिधि हुन नदिन प्रतिवद्ध रहेको तुलाचन बताउनुहुन्छ । भौगोलिक विकटता, प्रतिकुल मौसम र नीतिगत समस्याले पूर्वाधार निर्माणमा समस्या देखिएको उहाँले बताउनुभयो ।

कोरला नाकालाई नेपाल र चिनबीच ब्यापारिक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको छ । ब्यापारमा भारतसंगको परनिर्भरता हट्ने, धौलागिरि क्षेत्र ब्यापारीक केन्द्रको रुपमा विकास हुने मात्र नभई कालीगण्डकी करिडोरमा जलविद्युत र पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो ।

नवलपरासीको बर्दघाटदेखि मुस्ताङको कोरला जोड्ने ४०६ किलोमिटर दुरीको कालीगण्डकी कोरीडोर भारत र चिन जोड्ने नेपालकै छोटो सडक हो । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको कालीगण्डकी कोरीडोर अन्तरगत बागलुङ, गुल्मी, पर्वत खण्डमा सडकको ट्याक खुलेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: