स्थानीय जातका गाईको संरक्षण गर्न महायज्ञ आयोजना

मिलनचोक १६ कात्तिक । लोपोन्मुख स्थानीय जातका गाइको संरक्षणका लागि जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मंसिरमा धनधान्याचल बिराट् ज्ञान महायज्ञ आयोजना गरिएको छ ।

स्वामी कमलनयनाचार्यको पहल र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा स्थापित गौशालाको क्षमता विस्तार, व्यवस्थापन, आवश्यक संरचना निर्माण, स्थानीय गाइको संरक्षण, गाईको महत्व उजागर गराउने र अक्षयकोष स्थापना गर्ने उद्देश्यले मंसिर १९ देखि २६ गतेसम्म महायज्ञ आयोजना गरिएको हो ।

कालीगण्डकी र लुङदी नदीको दोभानमा आयोजना गरिएको महायज्ञको प्रचारप्रसार, व्यवस्थापन लगायतका तयारी तिब्र रुपमा अघि बढाइएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

गौशालामा ३५ वटा गाई पालिएको छ । खेतबारी जोत्न गोरुको विकल्पमा उपकरणको प्रयोग बढ्नु, चरनको अभाव र कम दूध दिने भएकाले धार्मिक, सांस्कृतिक, प्रौराणिक र पर्यावरणीय महत्व भएको स्थानीय गाई पाल्ने क्रम घटेको छ ।

‘हिन्दु समाजमा धार्मिक र सांस्कृतिक कार्यका लागि नभै नहुने जुरो भएका स्थानीय जातका गाईको पर्यावरणीय र जैविकीय महत्व छ,’ आचार्यले भन्नुभयो ‘व्यवसायिक रुपमा लाभ नहुने र खेतबारी जोत्ने ट्याक्टरको प्रयोगसंगै यी गाइहरु लोप हुदै गएकाले संरक्षण थालिएको हो ।’

बेनी, बागलुङ र कुश्मामा छाडा छोडीएका गाईलाई गौशालामा लगेर पालिने भएको छ । जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईको लागि चरण क्षेत्र बनाउन प्रस्ताव गरिएको छ ।

मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने, गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । गौशालामा पालिएका गाइको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यहरुका लागि बिक्री गर्ने उद्देश्य राखिएको छ ।

यसैगरी प्राङगारिक कम्पोष्ट मल उद्योग चलाउने योजना बनाएको महायज्ञ आयोजक समितिका आर्थिक संयोजक डण्डपाणी रिजालले बताउनुभयो । ‘गौशालाबाट प्राङगारिक मल उत्पादन गरि तरकारी र खाद्यबालिमा रासायिनक मल र बिषादीको प्रयोग घटाउने लक्ष्य छ,’ उहाँले भन्नुभयो ‘स्थानीय गाईमा पाइने बिशेषता अरु जातका गाईमा हुदैन् । गौशालामा स्थानीय जातका मात्र गाई पालेका छौ ।’

महायज्ञमा गाईको महत्व र फाइदाका विषयमा धार्मिक प्रवचन, गाई पूजा, झाँकी र भजन प्रस्तुत गरिनेछ । गौशालाको क्षमता बढाएर दुई हजार भन्दा बढी गाई पाल्न सकिने बनाउने उद्देश्यले आयोजित महायज्ञबाट पाँच करोड रुपैयाँ भन्दा बढी जुटाउने लक्ष्य राखिएको छ ।

कालञ्जर पर्वतको महत्व उजागर गराई जलजला क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गराउने महायज्ञको थप उद्देश्य भएको आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले बताउनुभयो ।

म्याग्दीको भुरुङ तातोपानी देखि पर्वतको पातिचौर सम्मको क्षेत्रलाई विभिन्न धार्मिक ग्रन्थहरुमा जडिवुटीको खानी भएको कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको छ । महायज्ञको तयारीको बारेमा आयोजकले शनिबार मिलचोकमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।

प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार तयारीलाई विभिन्न उपसमिति मार्फत अगाडी बढाएको उपाध्यक्ष शिव जिसीले बताउनुभयो । गौशालामा टहरा बनाउन यसअघि दुई लाख सहयोग गरेको जलजला गाउँपालिकाले यसपालि गाइको मुत्र प्रशोधन गर्ने उपकरण खरिदका लागि डेढ लाख छुट्टाएको वडा न. ४ का अध्यक्ष भिष्म मल्लले बताउनुभयो ।

गाइको संरक्षणका लागि नेपालमै पहिलो पटक आयोजना गरिएको महायज्ञको संयोजन जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले गरेको मल्लले बताउनुभयो । ‘कालञ्जर पर्वतको विषयमा डाक्टर जगन्नाथ रेग्मीले तयार पारेको पुस्तक पालिकाको सहयोगमा प्रकाशन भएको छ,’ उहाँले भन्नुभयो ‘राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना सहितको सहभागितामा आगामी हप्ता कालञ्जर पर्वतको धार्मिक पर्यटकीय सम्भावनाको बारेमा स्थलगत अध्ययन हुदैछ ।’

Leave a Reply

Scroll to Top
%d bloggers like this: