शान्ति कोषलाई दुई लाख सहयोगको घोषणा

बेनी, १४ कात्तिक । विपन्न म्याग्देलीको उपचारमा सघाउने उद्देश्यले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको अक्षयकोषमा एक युवाले दुई लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।

बेनी नगरपालिका–६ घर भई हाल बेलायतमा ब्यवसाय गर्दै आउनुभएका किसान जिसीले बिहीबार शान्ति कोषको कार्यालयमा आयोजित कार्यक्रममा दुई लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको हो ।

जिसीलाई संस्थाको बिधान अनुसार संरक्षक सदस्यता प्रदान गरिने कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । म्याग्दी जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा सघाउने उद्देश्यले कोषले दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ ।

‘म सँग प्रसस्तै पैसा भएर होईन्,’ जिसीले भन्नुभयो ‘आर्थिक अभावले कसैले पनि मृत्युलाई रोज्नुपर्ने बाध्यताको अन्त्य गर्न सघाउने प्रयास मात्रै गरेको छु ।’ कोषका अध्यक्ष राजेश शाक्यले २ करोडकोे अक्षय कोष स्थापना गरी त्यसबाट नियमित सहयोग गर्न सहज हुने बताउनुभयो ।

कोषका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।

कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । संस्थाको विधानमा आजिवन सदस्यता ५ हजार ५५५, ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: