म्याग्दीमा भित्रीयो टर्कीपालन


बेनी, ६ कात्तिक । म्याग्दीमा टर्की जातको नयाँ पंक्षिपालन भित्रिएको छ । युवा व्यवसायीहरुले देशका विभिन्न ठाउँबाट चल्ला ल्याएर सुरु गरेको टर्कीपालन म्याग्दीमा सफल देखिएको छ ।

मासु र अण्डाका लागि टर्की पालन गर्ने क्रम बढेको हो । टर्की म्याग्दीमा भित्रिएको नयाँ जातको पंक्षी हो । बेनी नगरपालिका–१ हुलाकी डाँडाका इश्वर केसीले २०७३ देखि टर्की पालन गर्दै आउनुभएको छ ।

मालिका गाउँपालिकाको दरवाङमा रहेको सुवेदी पोल्ट्री फर्मका सञ्चालक सुवेदीले पनि एक वर्षयता व्यवसायिक रुपमा टर्कीका चल्ला र अण्डा उत्पादन गर्दै आउनुभएको छ । शिशूकल्याण मावि अर्मनका शिक्षक घनश्याम सुवेदीले टर्कीको अण्डाबाट अतिरिक्त आम्दानी गर्न सफल हुनुभएको छ ।

दरवाङका सुवेदीले चितवनबाट चल्ला ल्याएर टर्की पाल्न थाल्नुभएको थियो । उहाँसंग हाल ७० वटा टर्की छन् । मासुका लागि जिउँदो टर्की, पाल्नेलाई चल्ला र अण्डा बिक्री गर्नुहुन्छ ।

‘परिक्षणका लागि सुरुमा २० वटा ल्याएर पालेको थिए,’ सुवेदीले भन्नुभयो ‘यहाँको हावापानीमा राम्रो भएपछि संख्या बढाए । ह्याच मेसिन ल्याएर अरुलाई चल्ला पनि बेच्न थालेको छु ।’ उहाँका अनुसार सात दिनको चल्ला पाँच सय रुपैयाँमा बिक्री हुन्छ । अण्डा प्रतिगोटा १०० रुपैयाँ पर्छ । एक वर्ष पाल्दा टर्कीको तौल ११ किलोसम्म हुन्छ ।

टर्कीको मासुको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ छ । उहाँले टर्कीका साथै लौकात, बट्टाई र स्थानीय जातका कुखुरा पनि पाल्नु भएको छ । ब्रोइलर कुखुरा पाल्दै आएका सुवेदीले त्यसको विकल्प खोजेको बताउनुभयो । उहाँसंग हाल ५५ वटा लौकात, २०० बट्टाई र ६० वटा स्थानीय कुखुरा छन् ।

कालीज जस्तै देखिने लौकात मासुका लागि प्रतिकिलो एक हजार ५०० रुपैयाँका दरले बिक्री हुन्छ । बट्टाइको मासु र अण्डा निमोनिया र दमका बिरामीले औषधिको रुपमा समेत उपभोग गर्छन् । ‘टर्कीको चल्लाको माग राम्रै आइरहेको छ, नयाँ भएर होला स्थानीय बजारमा मासु बिक्रीका लागि भने समस्या छ,’ सुवेदीले भन्नुभयो ।

हुलाकी डाँडाका केसीले प्रत्येक हप्ता सात वटाका दरले चल्ला बिक्री गर्दै आउनुभएको छ । मासुका लागि जिउँदो टर्की समेत बिक्री गर्नुहुन्छ । एक दिनको टर्कीको चल्ला तिन देखि चार सय र एक महिना पाल्दा एक हजार पाँच सय रुपैया मूल्य पर्छ ।

चार महिनामा चल्ला दिन सुरु गर्ने टर्की ६ देखि नौ महिनासम्म मासु खानका लागि उपयुक्त हुन्छ । भाले १२ देखि १३ किलोग्राम र पोथी ७ देखि ८ किलोग्राम तौलको हुन्छ । एक केजी टर्कीको मासुको मूल्य एक हजार रुपैयाँ छ ।

सुरुमा नयाँ कार्यको थालनी गर्दा टोल छिमेकको हाँस्य पात्र बनेका केसी यतिखेर नमुना कृषकको रुपमा चिनीन थाल्नुभएको छ । सञ्चार माध्यम र ईन्टरनेटको माध्यमबाट टर्की पालन सम्बन्धि जानकारी पाएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको थियो ।

एक वर्षमा पूर्ण रुपले तयार हुने पक्षी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाउने गरेको केसीले बताउनुभयो । उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरल, युरिक एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा नहुने हुँदा विदेशीको मात्र नभई स्वदेशीहरुबाट समेत यसको मासुको माग बढिरहेको छ ।

अर्मनका सुवेदीले एक वर्षअघि दुई भाले र दुई पोथीबाट टर्की पाल्न थाल्नुभएको थियो । अहिले उहाँसंग ६० भन्दा बढी हुर्कीएका टर्की छन् । पोखरामा प्रतिगोटा दुई सय रुपैयाँका दरले टर्कीको अण्डा बिक्री हुने गरेको सुवेदीले बताउनुभयो । पहिलो पटक टर्कीपालन गर्दा अनौठो मानेको गाउँका पाँच जनाले पनि पाल्न थालेका छन् । (रिखार दैनिक पत्रिकाबाट)

Leave a Reply

Scroll to Top
%d bloggers like this: