ऐतिहाँसिक घतानकोत मन्दिर पुनःनिर्माण

बेनी, १४ कात्तिक ः धार्मिक, पर्यटकीय हिसाबले महत्वपूर्ण बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने ऐतिहाँसिक घतानकोत मन्दिरको पुनःनिर्माण भएको छ ।

चन्दा सहयोग जुटाएर समुदायको अगुवाईमा मन्दिरको पुनःनिर्माण गरिएको हो । बाइसे चौबिसे राज्यका पालामा तत्कालीन ढोलथाने राजाले पुजाआजाका लागि तीन सय वर्ष पहिले बनाएको मन्दिर जिर्ण भएको थियो ।

धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने लक्ष्य सहित मन्दिर पुननिर्माण गरिएको हो । कुल रु. १९ लाख १३ हजार १३१ को लागतमा तीन तले प्यागोडा शैलीको मन्दिर बनाइएको निर्माण समितिका अध्यक्ष वुद्धीबहादुर चोखालले जानकारी दिनुभयो ।

मन्दिर पुननिर्माणका लागि प्रवासमा रहेका साविक घतानबासीहरुबाट रु. १२ लाख ६२ हजार ४०४ रुपैयाँ सहयोग प्राप्त भएको छ । गाउँमै रु.एक लाख ८१ हजार २२५ सहयोग जुटेको थियो ।

बेनी नगरपालिकाबाट रु.चार लाख ७५ हजार ५७५, सामुदायिक वन, खानेपानी, सिचाई उपभोक्ता समितिको कोषबाट रु. ८७ हजार ६१०, गुठि संस्थानबाट पुजा व्यवस्थापनका लागि रु. १५ हजार सहयोग प्राप्त भएको छ ।

कोत पुजा व्यवस्थापन समितिको रु.३८ हजार ५०० र ऋण सापटि चालीस हजार खर्च भएको अध्यक्ष चोखालले बताउनुभयो । साउदी अरबमा रहनुभएका नेप्टेचौरका बिनोद चोखालको नेतृत्वमा रामु नेपाली, दिपक केसी, सुनिल चोखाल, सञ्जोग कार्की लगायतका युवाहरुले सहयोग जुटाउन अभियान चलाउनुभएको थियो ।

तीनमानेका श्रेष्ठ परिवारले दुर्गा भगवतिको मुर्ति दान गरेका छन् । २०७६ बैशाख १ गते सुरु गरिएको पुननिर्माण कार्य दशैं अघिनै सकेर नवदुर्गाको पुजा सञ्चालन गरिएको थियो । दशैंको समयमा नवदुर्गाको पुजाआजा हुने यो मन्दिरमा दैनिक रुपमा नियमित पुजा सञ्चालनको तयारी भएको छ । अध्यक्ष चोखालले मन्दिर परिसर घेराबार र खानेपानीको व्यवस्थापनका लागि सम्बद्ध निकायमा पहल गरिएको बताउनुभयो । वाइट

समुन्द्रि सतहदेखि करिब दुई हजार २०० मिटर उचाइमा अवस्थित घतानकोत मन्दिर परिसरबाट सुर्योदय, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, म्याग्दी र पर्वतका ग्रामिण बस्ति, पहाडी भुगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

बेनी देखि पुलाश्रम, घतानकोत मन्दिर, ढोलथान, जगन्नाथ, गुफाको डाडा र टोड्केलाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग सञ्चालनको योजना अघि सारिएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो । ढोलथानमा यसै वर्ष विश्रामस्थल बनाउने र संरक्षणको काम सुरु गरिने उहाँले बताउनुभयो ।

पुलाश्रम, घतानकोत, ढोलथान र जगन्नाथ सम्म पुग्ने सडक निर्माण भइसकेको छ । बेनी बजारदेखि सडकमा यातायातका साधन र पैदलमार्ग भएर यी स्थानमा पुग्न सकिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: