भैली खेलेर जुटाएको रकमबाट बाढी पिडितलाई सहयोग

बेनी, १४ कात्तिक । बेनी नगरपालिका–८ कालीपुलका युवा युवतिहरुले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको रकमबाट बाढी पिडितलाई सहयोग गरेका छन् ।

बेनी नगरपालिका–२ कोतखोलामा असोज ४ गते राती आएको बाढीले घरबास बिहीन भएर सरस्वति आधारभूत विद्यालयमा आश्रय लिएर बसेका सात परिवारलाई करिब सोह् हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।

प्रतिपरिवार एक÷एक प्याकेट नुन, दुई÷दुई दर्जन बिस्कुट, दश÷दश पोका खानेतेल, नुहाउने र कपडा धुने सावुन, दुई÷दुई किलो चिनी, एक÷एक किलो दाल र एक÷एक प्याकेट चियापत्ति सहयोग गरेका हुन् ।

देउसीभैलो समूहकी सोनीया पुनको नेतृत्वमा गएको टोलीले बाढी पिडित राहत सहयोग व्यवस्थापन समितिका संयोजक भिमबहादुर रिजाल (राजु) लगायत स्थानीय अगुवाहरुको उपस्थितिमा बाढी पिडितलाई खाद्यान्न वितरण गरेका थिए ।

सोनीया पुन, अरुणा पुन, मनीता गौचन, संगिता पुन, सम्झना मल्ल, अञ्जु छन्त्याल, प्रतिक्षा पुन, उर्मीला बुढाथोकी, सेरीया पुन, आशिष पुन, बिवस शाही, विशाल पुन र बिधान पुनको टोलीले तिहारको अवसरमा बेनी बजारमा चार दिन देउसीभैलो खेलेका थिए ।

देउसीभैलोमा संकलित रकमबाट खाद्यान्न खदिर गरेर बाढी पिडितलाई सहयोग गरेको पुनले बताउनुभयो । बाढी पिडित राहत सहयोग ब्यवस्थापन समितिका संयोजक रिजालले युवा युवतिहरुले देउसीभैलो खेलेर जुटाएको रकमबाट बाढी पिडितलाई सहयोग गरेर सकारात्मक सन्देश प्रवाह गराएका बताउनुभयो ।

देउसीभैलो खेलेको रकम बनभोज र अन्य काममा फजुल खर्च गर्ने विकृतिलाई उनिहरुले चुनौति दिएका रिजालले बताउनुभयो । बाढीले दुई जना बालिकालाई बगाएर वेपत्ता बनाएको थियो । वुद्ध एकेडेमीको भवन र सात वटा घरमा क्षति पु¥याएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: