क्षेत्री समाज र बेनी सामुदायिक माविको देउसीभैलो

बेनी, ९ कात्तिक । क्षेत्री समाज म्याग्दीले तिहार पर्वको अवसरमा बेनीमा देउसी भैलो सञ्चालन गरेको छ ।

क्षेत्री समाजको भवनलाई थप व्यवस्थित र तला थप गर्ने उद्देश्य राखेर देउसीभैलो खेलिएको हो । समाजका अध्यक्ष बिरबहादुर थापाले शुभकामना आदानप्रदान, संस्कृतिको संरक्षण र आयस्रोत जुटाउन देउसीभैलो खेलिएको बताउनुभयो ।

समाजको भवनमा क्षेत्रि महिला समाजको लागि छुट्टै तला थप गर्न लागिएको हो । पहिले भवन बनाउदा लागेको ऋण तिर्न पनि बाँकी भएकाले देउसीभैली खेलिएको अध्यक्ष थापाले बताउनुभयो ।

मंगलाघाटमा शुक्रबारदेखि सुरु भएको देउसी भैलो बिरेन्द्रचोक, बालमन्दिरचोक, संगमचोक, गणेशटोल, क्याम्पसचोक सम्म खेलिएको छ ।

बेनी सामुदायिक माविका शिक्षक विद्यार्थीहरु पनि खेलकुद र छात्रवृत्ति अक्षयकोष बनाउने उद्देश्य राखेर देउसीभैलो खेलीएको सहायक प्रअ काशीराम रेग्मीले बताउनुभयो । निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयहरु शिक्षकको तलबभत्ताका लागि पैसा संकलन गर्न देउसीभैलो खेलेका छन् ।

परम्परागत देखि आधुनिक कला संस्कृतिलाई समावेश गरेर देउसी भैलो खेलेका छन् । तिहारको समयमा बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरु सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष र घरधनीले दान रकम दिने चलन छ ।

देउसीभैलो गायन र नृत्य कला भएका कलाकारहरुका लागि आम्दानीको स्रोत बनेको छ । विभिन्न संघ संस्थाले गाउने र नृत्य गर्ने कलाकारलाई आकर्षक पारिश्रमिक दिएर देउसीभैलोमा आवद्ध गराएका छन् ।

धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: