बुलबुलले १११औँ लक्ष्मी जयन्ती मनाउने

म्याग्दी जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले १११ औँ लक्ष्मी जयन्तीको अवसर पारेर यही कार्तिक ०९ गते ‘बुलबुलमा हामी’ नाम साहित्यिक कार्यक्रम गर्ने भएको छ । यस वर्ष कार्तिक दश गते देवकोटाको १११ औँ जन्मतिथि रहेको भएपनि म्याग्दी साहित्य सञ्चारले ९ गते म्याग्दीको बेनी बजारमा साहित्यिक कार्यक्रम गरेर महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने प्रयास गरेको हो ।
संस्थाको स्थापना कालदेखि नै फरकफरक साहित्यिक कार्यक्रम गर्ने गरेको म्याग्दी साहित्य सञ्चारले यसपटक चर्चित युवा गजलकार प्रदिप रोदन र नकुल पौडेलका गजलहरु सुन्ने वातावरण मिलाएको हो । रोदन स्थापित गजलकार हुन् भने पौडेल युवाहरुका माँझ लोकप्रिय रहेका छन् । ‘बुलबुलमा हामी’मा गजलकार रोदन र पौडेलको साथमा स्थानीय गजलकारहरु नारायण अभिलाषि, इन्द्र वियोगी, अमर स्पन्दन, विभा ढुङ्गाना र कान्ति पौडेलका गजलहरु पनि सुन्न पाइनेछ । हरेक वर्षको कार्तिक महिनाको औंसी तिथिमा स्वदेश तथा विदेशमा रहेका नेपाली साहित्यमा रुची राख्ने साहित्य प्रेमीहरुले विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गरी लक्ष्मी जयन्ती मनाउने गर्दछन् । नेपाली साहित्यमा रुची राख्ने साहित्य प्रेमीहरुले लक्ष्मी जयन्तीलाई विशेष उत्सवको रुपमा लिँदैे नेपाली साहित्य विभिन्न साहित्यिक कार्यक्रम गरेर देवकोटालाई सम्झने गर्दछन् ।
महाकवि देवकोटाको जन्म १९६६ साल कार्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: