दरवाङका मासु पसल अनुगमन

दरवाङ, २ कात्तिक । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित मासु पसलहरुको शनिबार अनुगमन गरिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नेतृत्वमा गाउँपालिका र प्रहरीको उपस्थितिमा सात वटा मासु पसलका अनुगमन गरिएको हो । अनुगमन टोलीले मासु पसलको सरसफाईको अवस्था सुधार र आवश्यक न्युनतम पूर्वाधारको ब्यवस्थापन गर्न सञ्चालकहरुलाई निर्देशन दिएको छ ।

मासु बिक्री गर्ने स्थलमा टायल लगाएर, सिसा र तारजाली लगाउन, विद्युतीय तराजु राख्न, सफा सुग्धर बनाउन, मूल्य सूचि राख्न र नियमित अद्यावधिक गर्न निर्देशन दिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुशुमले बताउनुभयो ।

अधिकांश पसलमा मासु पसल सञ्चालनका लागि आवश्यक पूर्वाधार नभएको पाइएको छ । सरसफाईको अवस्था कमजोर देखिएको छ । कसैले पनि मूल्य सूचि राखेका छैनन् । सबैले परम्परागत ढक तराजु राखेका छन् ।

अनुगमनलाई निरन्तरता दिने र निश्चित अवधिमा सुधारका लागि मासु पसल सञ्चालकहरुलाई लिखित प्रतिवद्धता गराइएको पशु सेवा प्राबिधिक सुभास रेग्मीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: