बिहीबारको जापान उडान स्थगित गर्ने योजनामा नेपाल एयरलाइन्स

१५ भदौ, काठमाडौं । साताको तीन उडान गर्ने गरी काठमाडौं–ओशाका उडान सुरु गरेको निगमले तत्कालका लागि बिहीबारको उडान स्थगित गर्ने योजना बनाएको छ । काठमाडौंबाट जापान जाने यात्रु कम भएपछि साताको दुई उडान पर्याप्त हुने देखिएको भन्दै एक उडान स्थगित गर्ने योजना रहेको निगम स्रोतले जानकारी दिएको छ ।

दशैंको सिजन भएकाले जापानबाट नेपाल आउने यात्रु सन्तोषजनक रहेपछि काठमाडौंबाट जापान जाने यात्रु कम छन् । त्यस कारण रित्तै जहाज उडानुभन्दा यात्रु बढ्दा साथ उडान थप्ने गरी सातामा दुई उडान मात्र गर्ने तयारी छ । यसको फाइनल सेड्यूल भने नआइसकेको निगमका एक अधिकारीले जानकारी दिए ।

‘यात्रु नियमित हुने अवस्थामा स्थगित हुँदैन,’ उनले भने, ‘तर, अन्य यात्रु पाउने गन्तव्य छाडेर जापानमा रित्तो जहाज उडाउँदा निगमलाई पनि घाटा हुन्छ ।’

एयरलाइन्स बिजनेशमा यात्रु घट्दा र बढ्दा गरिने उडान थप र कटौतीको नियम अनुसार जापान उडान नियमित हुने उनले बताए । उनका अनुसार दशैं र त्यसपछि पनि अग्रिम बुकिङ राम्रो छ । तर, दशैं अगाडि बुकिङ ट्रेण्ड एकतर्फी छ । दशैंपछि काठमाडौंबाट जापान जाने यात्रु बढ्ने अपेक्षा छ ।

त्यसपछि पर्यटकीय मौसम सुरु हुने भएकाले यात्रु अभाव नहुने निगमले अपेक्षा गरेको छ । निगमले १२ वर्षपछि गत १२ भदौदेखि जापान उडान थालेको थियो । शनिबार जापानबाट काठमाडौं आउँदा निगमको जहाजमा ९५ यात्रु रहेका थिए । जापानका लागि निगमले मंगलबार, बिहीबार र शनिबारको उडान राखेको छ ।

अनलाईनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: