म्याग्दीमा छ हजार सवारी चालक कारबाहीमा

बेनी ८ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७५७६ मा नियम उल्लङघन गरी सवारी साधन चलाउनेलाई कारबाही गरी करिब बयालीस लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।गत वर्ष छ हजार २०० जिप, कार, ट्रक, मोटरसाईकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लङ्घन गरेकोमा कारबाही गरिएको कार्यालयले जनाएको छ । जरिवाना वापत ४१ लख ९३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान बैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।

सवारी साधनको स्वरुप परिवर्तन गर्ने, मादक पदार्थ सेवन गरि सवारी चलाउने, क्षमत्ता भन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतीपत्र र सवारी धनी प्रमाणपत्र बिना सवारी चलाउने चालक तथा सवारी धनीहरुलाई कारबाही गरिएको हो ।दुर्घटना न्युनीकरणका लागि चेकजाँचमा कडाई, जनचेतनामुलक कार्यक्रम, लामो समय देखि बागलुङमा रोकिएको सवारी चालक अनुमतिपत्र वितरण हुन लगायतका कारणले अघिल्लो बर्षको तुलनामा कारबाही हुने सवारी संख्या, राजस्व र दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ८२०० सवारी साधनलाई कारबाही गरेर ५७ लाख ६९ हजार ५००, २०७३/७४ मा चार हजार ९९ सवारी साधनलाई कारबाही गर्दा ३३ लाख ६३ हजार र २०७२/७३ मा चार हजार ८३९ सवारी साधन कारबाहीमा पर्दा १८ लाख ५३ हजार तीन सय राजस्व संकलन भएको थियो ।

गत वर्ष एक हजार ३९ ट्रकबाट सात लाख आठ हजार ५००, एक हजार ४३ बसबाट छ लाख ६४ हजार, दुई हजार २६७ जिपकारबाट पन्ध्र लाख २८ हजार पाँच सय, ८०६ ट्याक्टरबाट पाँच लाख पाँच सय, एक हजार ४९ मोटरसाइकलबाट सात लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

असोज महिनामा सबैभन्दा बढी ८०० सवारी साधनका चालक तथा धनी कारबाहीमा परेका छन् । असोज र कात्तिक महिनामा बराबर पाँच लाख ४४ हजार रुपैयाँका दरले राजस्व उठेको छ ।
गत वर्ष भएका सात वटा दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने पाँच जना सख्त र १३ जना सामान्य घाइते भएका छन् । पाँच वटा सवारी साधनमा क्षति पुगेको छ । अघिल्लो वर्ष भएका १४ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए ।

बेनी सहित दरवाङ, सिंगा तातोपानी र भुरुङमा समेत ट्राफिक प्रहरी खटाइएको छ । ९ जना दरबन्दी भएपनि १२ जना कार्यरत छन् । दुर्घटना न्युनीकरणका लागि सवारी चालक, सर्वसाधारण र विद्यार्थीलाई लक्षित गरेर जनचेतना अभिवृद्धिमा जोड दिएको छ ।

सवारी चालकको सडकमै स्वास्थ्य परिक्षण, सडकमै यात्रु र चालकलाई प्रशिक्षण, सिकारु चालकलाई प्रशिक्षण, विद्यार्थी कक्षा, ब्यवसायी र चालकहरुसंग अन्तरक्रिया गरिएको थियो । ट्राफिक नियम सम्बन्धी पर्चा पम्पलेट समेत वितरण गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: