एसईई र कक्षा १२ को परीक्षा स्थगित

बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।‘कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

बोर्डले यसअघि एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बताइएको छ ।जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ ।

५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको बोर्डका सदस्यहरुले बताए । जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि अन्यौलमा छ । परीक्षा हुन महिना दिन बाँकी छ तर महामारीले पठनपाठन बन्द छ भने अधिकांश जिल्ला निषेधाज्ञामा छन् । करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् ।

यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ ।

गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो । त्यस्तै बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

No photo description available.

Leave a Reply

Scroll to Top
%d bloggers like this: