चितवनमा ९४ प्रतिशत संक्रमित होम आइसोलेसनमा, प्रभावकारी अनुगमन नहुँदा सक्रमण झन् फैलने आशंका

चितवन, वैशाख २१ । चितवन जिल्लामा सक्रिय संक्रमितमध्ये ९४ प्रतिशत होम आइसोलेसनमा रहेका छन् । पहिलो चरणको कोभिड १९ संक्रमण तिव्र हुँदा स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टाइन र आइसोलेसनमा रहने गरेको भएपनि अहिले अधिकाँश होम आइसोलेसनमा रहन वाध्य भएका हु्न् । जिल्लाका सात वटै स्थानीय तहले अझैसम्म आइसोलेसन बनाएका छैनन् ।

अक्सिजन सहितको आइसोलेसन निर्माण गर्ने छलफल चलेपनि व्यवहारत कसैले तयार पारेका छैनन् । होम आइसोलेसनमा संक्रमित थपिदै जाँदा त्यसले संक्रमण थप बढाउने चिकित्सकहरुले बताएका छन् । घरका अधिकाँश परिवार संक्रमित हुँदा उनीहरुको हेरचाहा, आहारविहार तथा फलफूल खरिदका लागि अर्को सदस्य वाहिर जानुपर्ने, अन्यसँग सम्पर्कमा रहने, कतिपयले आफ्नो रिर्पोट पोजेटिभ आएपनि झुठ बोलेर मर्निङ वाक, इभिनिङ वाकमा जाने गरेको समेत पाइएको भरतपुर अस्पतालका कोभिड १९ फोकल पर्सन डा प्रमोद पौडेलले जानकारी दिनुभयो । लक्षण नभएका र साधारण लक्षण भएकाहरुलाई होम आइसोलेसन अति उत्तम हुने भएपनि मापदण्ड पालना नगर्दा त्यसले संक्रमणको जोखिम थप बढाएको उहाँको भनाई छ । नागरिक स्वयम सचेत हुँदै जिम्मेवार पनि हुनुपर्ने डा पौडेलको सुझाव छ ।

होम आइसोलेसन बस्दा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गर्नुपर्ने र त्यसको प्रभावकारी अनुगमन स्थानीय तहबाट हुनुपर्नेमा उहाँको जोड छ । अन्यथा संक्रमण नियन्त्रणमा समस्या हुने चिकित्सकहरुको भनाई छ । पहिलो चरणको कोभिड १९ को समय सक्रमितलाइ सिधै अस्पताल वा संस्थागत आइसोलेसनमा लैजादा सम्पर्क चेन छुटेकाले पनि चाँडै संख्या घट्दै गएको थियो । तर अहिले चितवनमा निषेधाज्ञा जारी रहदा स्वाव परीक्षणबाट आउने पोजेटिभ केश भने दिप्रतिदिन बढिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सक्रिय संक्रमितमध्ये ८३ प्रतिशत भरतपुर महानगरपालिकाका मात्रै छन् । तर महानगरपालिकाले अझै सम्म आइसोलेसन तयार पारेको छैन । महानगरसँगको बैठकमा प्रमुख जिल्ला अधिकारी लामिछानेले सवै स्थानीय तहहरुलाई वडा समिति, टोल समिति,स्वास्थ्यका सवै युनिटलाई सक्रिय बनाएर होम आइसोलेसनमा रहनेहरुको अनुगमन निरीक्षण गर्न सुझाव दिनुभएको थियो । जसले संक्रमितलाई अनुशासीत हुन, स्वास्थ्य मापदण्ड पालना गराउन र उनीहरुको स्वास्थ्य अवस्थावारे निरन्तर अद्यावधिक गर्न सहज हुने विश्वास रहेको थियो ।

आफूले १५ दिन अघिनै करिव दुई सय वेडको आइसोलेसन निर्माण गर्न महानगरपालिकालाई भनेपनि निर्माण नगरिएको उहाँले बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतीवडाले भनेजस्तो सजिलो नभएको र अक्सिजन सहितको आइसोलेसन बनाउनुपर्ने बताउनुभएको थियो । तर चिकित्सकहरुले भने अक्सिजन आवश्यक पर्ने कुरा दोस्रो प्राथमिकता भएको भन्दै पहिला पोजेटिभ देखिनासाथ होम आइसोलेसनमा वस्दा संक्रमण फैलने सम्भावना हुनहरुलाई सामान्य आइसोलेसनमा पठाउदा उचित हुने बताउँछन् । त्यसपछिको स्वास्थ्य अवस्था अनुसार अस्पतालहरुसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले अहिले कोरोना संक्रमण चौथो चरण पुगेको बताउनुभयो । अहिले समुदायमा पुगिसकेकाले लक्षण देखिएका व्यक्तिहरु नै जिम्मेवारी नागरिक वनेर होमआइसोलेसनमा वस्नेहरुले मापदण्डको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो । अव पहिलो चरणको जस्तै उपचार पद्दती खोज्नु भन्दा पनि स्थानीय तहहरुलाई अनुगमनको जिम्मा दिएकाले टोल समिति सहितको सक्रियता यो समय आवश्यक परेको बताउनुभयो । पछिल्लो समय सक्रमितको सख्या बढ्नुमा निषेधाज्ञा अघिको भीडभाड, विवाह भोज, भेला, कार्यक्रम आदि कारण रहेको आकलन गरिएको पनि तिवारीले बताउनुभयो ।

आज सम्म चितवनमा सक्रिय संक्रमितको कुल सख्या १ हजार ४ सय ४ पुगेको छ । आज मात्रै २३३ जना संक्रमित थपिएका छन् । सक्रिय कुल सक्रमित मध्य १ हजार ३१५ जना होम आइसोलेसनमा र वाँकी ८९ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । आज थपिएका २३३ जना मध्ये भरतपुर महानगरपालिकाका मात्रै १८८ जना छन् । कुल सक्रिय संक्रमित मध्य भरतपुर महानगरपालिकामा मात्रै १ हजार १ सय ६३ जना रहेका छन् ।
जिल्लामा आज सम्म १२१ जनाको मृत्यु भएको छ । कुल संक्रमित ८ हजार ४ सय ४५ पुगेको जिल्लाका ६ हजार ९ सय २० जना निको भई घर फर्किसकेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: