बुलिङटार सम्म पहिलो पटक सडक पुर्याउने पूर्व शिक्षक रानाभाटको निधन

वैशाख ११ । आज वैशाख ११ । १५ औँ संघीय लोकतन्त्र दिवस पनि । २०६२÷०६३ को जनआन्दोलनको आँधिवेहरीले नयाँ नेपालको खाका कोरीएको सुनौली दिन आज ।

तर यही सुनौली दिनका दिन लोकतन्त्र ल्याउनका लागि ग्रामीण तथा शहरी दुवै क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पूर्व शिक्षक शालिकराम रानाभाटलाई यो देशले गुमाउन पुगेको छ । डाँडाझेरी र बुलिङटारको कठिन भौगोलिक अवस्थाका वावजुत पनि गाउँगाउँबाट जनतालाई लोकतन्त्रको आन्दोलनबारे बुझाउँदै प्रजातान्त्रीक आन्दोलनमा होमिन महत्वपूर्ण भूमिका खेल्नुभएका रानाभाटको आज विहान साँढे ५ बजे ७० वर्षको उमेरमा निधन भएको हो ।

नवलपुर जिल्लाको तत्कालिन डाँडाझेरी गाविस वडानम्वर १ (हाल बुलिङ्टार गाउँपालिका २) मथारमा जन्मिनु भएका रानाभाटको आफ्नै निवास गैँडाकोट ४ झपर्दीमा निधन भएको छ ।

विस २००८ साल असार १० गते मथारमा जन्मिनुभएका रानाभाट ग्रामिण क्षेत्रको शैक्षिक अवस्थाले चिन्तित बनायो । प्राय जनजातीहरुको वाक्लो वस्ती रहेको गाविसमा शैक्षिक अवस्था नाजुक देखिएपछि त्यसको सुधार र विकासका लागि विस २०३२ सालमा शिक्षाको उज्यालो ज्योति छर्न शिक्षक पेशा अंगाल्नुभयो ।

प्राय नियुक्ति पत्र लिएर शहरी क्षेत्रमा केन्द्रीत हुने रहर धेरैमा हुँदा उहाँले भने सेतीनाग मावि अर्खालाबाट आफ्नो कार्य सुरु गर्नुभयो । त्यसपछि लामो समय सोही क्षेत्रका उज्जवल भविष्य देख्ने स्थानीयलाई शिक्षाको ज्योति छर्नुभएको उहाँ आफ्नै जन्मस्थानमा रहेको जीवनज्योति निमाविमा पढाउँदै सोही ठाउँबाट अवकाश हुनुभयो । लोभ,लालच र व्यक्तिगत स्वार्थबाट टाढै रहनुभएका रानाभाटले शिक्षाको ज्योति त छर्नुभएकै थियो तर सडक नै नपुगेकोले अझ वढि चिन्तित बनायो ।

 

विरामी हुँदा उपचारका लागि डोकोमा वा डोलामा बोकेर सदरमुकाम परासी वा चितवन ल्याउनुपर्ने वाध्यताले उहाँलाई ठूलो चिन्ता पर्यो । त्यसपछि जसरी पनि सडकले बुलिङटार क्षेत्र जोड्नुपर्छ भनेर लाग्नुभएका रानाभाट बुलिङटार,अर्खाला, बोझापोखरी सकड उपभोक्ता समितिको कोषाध्यक्षमा रहनुभयो ।

कोषाध्यक्षको भूमिकामा रहेपनि काममा भने अध्यक्ष सरहकै सक्रियता थियो । उहाँ सहितका उक्त समितको सक्रियताले पहिलो पटक बुलिङटारसम्म कच्ची सडक पुर्याइयो र जनतालाई राहत सँगै विकासको गोरेटोमा अघि वढ्यो । करिव ६ वर्ष उक्त पदमा रहेर काम गर्नुभएका रानाभाटको स्वास्थ्य अवस्था भने विस्तारै विग्रदै थियो । पछि गैँडाकोटमै स्थायी वसोवास गर्दै आएपनि उहाँको सक्रियता ग्रामीण क्षेत्रमै केन्द्रीत थियो ।

गाउँकै जनताको दुख, पीर मर्कामा सहयोगी बन्नेमै उहाँ केन्द्रीत रहनुभयो । गाउँकै सामुदायिक वनमा अध्यक्ष, खानेपानी आयोजनाको सचिव देखि विद्यालयको विकासका लागि उहाँको खटाई निरन्तर रहिरह्यो । जसको भूमिकालाई नेपाली काँग्रेसले पनि विर्सन सकेन । अन्तत उहाँ नेपाली काँग्रेसको ११ औँ महाधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित हुन सफल हुनुभयो ।

सामाजिक देखि राजनीतिक क्षेत्रमा सक्रिय रानाभाटको चिन्ता गाउँ,शहर र देशको विकासमै केन्द्रीत हुन्थ्यो तर पछिल्लो समय स्वास्थ्यले साथ नदिँदा पनि उहाँ घरमा रहेको ठूलो रेडियोको माध्यमवाट निरन्तर देशको खवरवारे जानकारी राख्नुहुन्थ्यो । बुवा टेकबहादुर भाटका जेठा छोरा उहाँ वुवाको राजनीतिक सक्रियताले सामाजिक क्षेत्रमा लाग्न थप प्रेरित गरेको थियो । बुवा भाट पनि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुँदै प्रजातन्त्र ल्याउनका लागि लामो समय सक्रिय रहनुभएको भयो प्रजातन्त्र सेनानीको नेतृत्वमै रहेर पनि काम गर्नुभएको थियो ।

रेडियोका समाचार नछुटाई सुन्ने उहाँले पछिल्लो समयमा नेतृत्वमा रहेका नेताहरुले जनताको आवश्यकता पहिचान गर्न नसकेको गुनासो गर्नुहुन्थ्यो । तर पनि नेपाली काँग्रेसनै देशको निकास र विकासमा काम गर्ने पार्टी भएको बताउनुहुन्थ्यो । रानाभाट विगत १ वर्षदेखि अस्वस्थ्य हुनुहुन्थ्यो । उपचार पछि पनि निको नभएपछि उहाँको आज विहान निधन भएको हो ।
उहाँको श्रीमती, २ छोरा, १ छोरी, २ बुहारी हुनुहुन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: