तिहारलाई लक्षित गरेर हरियाली समूहद्धारा फुल उत्पादन

बेनी, १० कात्तिक । बेनी नगरपालिका–४ सिंगाको आँगेबगरमा जिल्लामै पहिलो पटक व्यवसायिक फुल खेति गरिएको छ ।

हरियाली समूहले छ रोपनी जग्गामा सयपत्री जातको स्थानीय र हाइब्रिड फुल खेति गरेको हो । पहेलो र सुन्तला रंगको फुलले बगैचा रंगिएको छ ।

म्याग्दी जिल्लामा आवश्यक फुल आपुर्ति गरि आत्मनिर्भर बनाउने र छिमेकी जिल्लामा निकासी गर्ने उद्देश्यले फुल खेति गरिएको हरियाली ग्रुपका प्रबन्ध–निर्देशक शेरबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार तिहारलाई लक्षित गरेर पाँच हजार किलोग्राम फुल उत्पादन गरिएको छ । बगैचाको फुल टिपेर आइतबार बेनी, बागलुङ र कुश्माको बजारमा पठाउन थालिएको छ ।

थोकमा प्रतिकिलो दुई सय र खुद्रा प्रतिकिलो २५० रुपैयाँ फुलको मूल्य तोकिएको छ । म्याग्दीमा यसअघि व्यवसायिक फुल खेति भएको थिएन् । सर्वसाधारणले घरायसी उपभोगका लागि आफ्नै करेसाबारी, खेत, बारीमा फुल लगाउदै आएका छन् ।

बेनी बजारमा तिहारको समयमा खबरा र घतानबाट फुल ल्याएर बिक्री गर्छन् । विभिन्न सभा समारोह, सहकारी र संघ संस्थाको कार्यक्रममा मालाका लागि भारतबाट आयातित फुलको माला प्रयोग हुदै आएको छ । जिल्लामा आवश्यक फुलको माग पुरा गर्ने र आयात घटाउने उद्देश्यले फुल खेति गरिएको प्रबन्धक केसीले बताउनुभयो ।

सिंगा र आंगेबगरमा जग्गाधनी किसानहरुको समूह बनाई उनीहरुको जग्गालाई एकिकृत र चक्लाबन्दी गरेर व्यावसायिक फुलखेतिका साथै तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको छ । कृषिको आधुनिकिकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकहरुको आम्दानी बढाउने उद्देश्य राखिएको यस अवधारणलाई “हरियाली मोडेल” नाम दिइएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले अघि सार्नुभएको यो मोडेल नेपालमै पहिलो पटक म्याग्दीमा लागू भएको छ । ३४ जना कृषकहरुको १६० रोपनी जमिन एकिकृत गरी अघि बढाइएको उक्त परियोजनामा जग्गाधनी कृषकहरुसंग १५ वर्षको लागि जमिनको करार गरिएको छ ।

कृषि फार्ममा कार्यरत ४० जना कर्मचारीमध्ये अधिकांश जग्गाधनी परिवारका सदस्य छन् । छ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको कम्पनीले कालिज, बाख्रापालन र रिसोर्ट सञ्चालनको तयारी गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: