मराङ र कोटगाउँमा बिजुली

बेनी, ७ कात्तिक । धवलागिरी गाउँपालिका–६ मराङ र रघुगंगा गाउँपालिका–६ कोटगाउँमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छ ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले केन्द्रीय मराङ र कोटगाउँमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गरेको हो । मराङको ७५ र कोटगाउँको ६९ घरमा विद्युतीकरण गरिएको प्राधिकरणका इञ्जिनियर हेमराज चापागाइले बताउनुभयो ।

मराङमा बुधबारदेखि र कोटगाउँमा दसै अघि बिजुली बलेको हो । मराङको बेशी, कुम्री, दमकाको बस्तिमा बिजुली बलेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रको बस्तिमा केन्द्रीय लाइन विस्तार भएपछि मराङबासीमा खुसीयाली छाएको छ ।

छिमेकी मालिका गाउँपालिकाको अर्गला हुदै मराङ सम्म केन्द्रीय लाइन विस्तार गरिएको हो । दोस्रो चरणमा आरवाङ, घण्टीवाङ, राम्चे, हाङवाङ, कल्लेनीको बस्तिमा पनि विद्युत विस्तारको तयारी भएको छ ।

मराङमा यसअघि लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गरिएको थियो । केन्द्रीय लाइन भएपछि उज्यालोका साथै उद्यम ब्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ । कोटगाउँमा भने उज्यालोका लागि सौर्य उर्जा र टुकीमा निर्भर थिए ।

यस वर्ष म्याग्दीको सातबिसे, अर्मन, निस्कोट, दिच्याम र ताकमको एक हजार घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको प्राधिकरणका प्रमुख माधव महतले बताउनुभयो । म्याग्दीमा चौबिस हजार घरधुरीको बसोबास छ ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका सहित बेनी वितरण केन्द्र अन्तरगत करिब सत्र हजार घरधुरी उपभोक्ता छन् । दुर्गम गाउँबस्तीमा विद्युत सुबिधा विस्तार भएपछि स्थानीयको दैनिकिमा सहज भएको छ ।

उज्यालोका लागि टुकी र सोलारमा निर्भर हुनुपर्ने बाध्यता हटेको छ । मोवाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सजिलो भएको छ । फर्नीचर, राइसमिल, कुखुरापालन लगायत ब्यवसाय र उद्योग सञ्चालन हुन थालेको छ ।

म्याग्दीमा गत वर्ष केन्द्रीय प्रशारण लाइनको विद्युत सुबिधा विस्तार गर्न सिचाई, ऊर्जा तथा जलस्रोत मन्त्रालयले दुई वटा शिर्षकमा १२ करोड ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । ४५ मध्य ११ वटा वडामा केन्द्रिय प्रशारण लाईनको विद्युत पुगेको छैन् । पिक आवरको समयमा चार मेगावाट विद्युत खपत हुने गर्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: