म्याग्दीमा बंगुर जोन

बेनी, ३ कात्तिक । म्याग्दीमा बंगुरको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) सञ्चालनको तयारी भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ब्यवसायिक बंगुरपालन विस्तार, व्यवस्थित गर्ने, उत्पादन वृद्धी र बजारीकरणमा सघाउने उद्देश्यले जोन स्थापना गर्न लागेको हो ।

बंगुर जोन सञ्चालनका लागि पहिलो चरणमा कार्यक्रम लागू हुने क्षेत्र निर्धारणका लागि स्थलगत सर्वेक्षण गरिसकिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका जिल्ला प्रमुख सुर्य बरालले बताउनुभयो ।

बंगुरपालन भइरहेका र सम्भावना भएको भूगोललाई समेटेर जोन स्थापना गरिने उहाँले बताउनुभयो । बेनी र बाग्लुङ नगरपालिका, जलजला, रघुगंगा, मंगला, मालिका र काठेखोला गाउँपालिकालाई समेटेर गत वर्षदेखि सुन्तला जोन कार्यक्रम सञ्चालन भएको छ ।

कृषि क्षेत्रको उत्पादन वृद्धी, शुसासन, बजारमा प्रतिस्पर्धा योग्य बस्तुको उत्पादनसंगै कृषिलाई उद्योगमा रुपान्तरण गर्ने जोनको मुख्य उद्देश्य रहेको परियोजनाका कृषि अधिकृत नारायण पौडेलले बताउनुभयो ।

म्याग्दीको बेनी, तातोपानी, बाबियाचौर, दरवाङ, भुरुङ्ग तातोपानी, रत्नेचौर क्षेत्रमा बंगुरपालन हुदै आएको छ । बंगुरपालन म्याग्दीको नयाँ र कृषकहरुको आकर्षण बढ्न थालेको ब्यवसाय हो । दरवाङका बंगुरपालक कृषक टेकलाल पटेलले जोन सञ्चालन हुन लागेकोमा खुसी ब्यक्त गर्नुभयो ।


प्राबिधिक र बजारीकरणमा सहयोग पाउने उहाँको अपेक्षा छ । स्थलगत अध्ययन पछि प्राबिधिक टोलिले दिएको प्रतिवेदनको आधारमा जिल्ला स्तरीय समितिको सिफारिस र मन्त्रालयले अनुमोदन गरेपछि परियोजना कार्यान्वयनका लागि कृषकहरुको सञ्चालक समिति गठन हुने व्यवस्था छ ।

परियोजना लागू भएका ठाउँका कृषकहरुलाई कृषि उद्यम सञ्चालनका लागि पचास देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने ब्यवस्था छ । दश वर्ष सम्मका लागि लागु हुने कार्यक्रमबाट बंगुरको उत्पादन वृद्धी, पाठापाठी निकासी र आयात न्युनीकरण गर्ने लक्ष्य छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: