लोमान्थाङको मौलिकता जोगाउन पहल

लोमान्थाङ, १ कात्तिक ः मुस्ताङको ऐतिहाँसिक तथा सांस्कृतिक बस्ति लोमान्थाङको मौलिकता जोगाउन पहल थालिएको छ ।

सात सय वर्ष पुरानो बस्तिको मौलिकता संरक्षण र दुर्घटनाको जोखिम घटाउन विद्युतको तारलाई भूमिगत बनाइएको हो । माटोको पर्खालभित्र बाक्लो बस्ति भएको लोमान्थाङमा मौलिकतामा असर नपर्ने गरी विकासका पूर्वाधार निर्माण गर्ने नीति लिइएको वडा अध्यक्ष रिनजिन दोर्जे बिष्टले बताउनुभयो ।

लोमान्थाङ गाउँपालिकाको केन्द्र समेत रहेको लोमान्थाङको माटोको पर्खालभित्रका १६० सहित दुई सय बढी घर छन् । जमिनभित्र तार विछ्याएर सबै घरमा विद्युत सुबिधा पु¥याइएको वडा अध्यक्ष बिष्टले बताउनुभयो ।

“बाक्लो बस्तिभित्र विद्युतका तार तान्दा मौलिक सौन्दर्यमा असर पुग्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम हुने भएकाले बिजुलीको तार, खानेपानीको पाइपलाइन र ढल निकासलाई एकै पटक भूमिगत बनाएका हौ” वडा अध्यक्ष बिष्टले भन्नुभयो ।

विद्युतको तारलाई भूमिगत बनाउन लोमान्थाङ गाउँपालिकाले गत आर्थिक वर्षमा रु. एक करोड २५ लाख बिनियोजन गरेको थियो । ढल निकासमा रु. एक करोड ३० लाख खर्चेर भूमिगत नाला बनाइएको छ ।

संघीय सरकारको सहयोगमा निजी धारा सहितको खानेपानी आयोजना सञ्चालन गर्न लागिएको छ । बस्तीलाई रातको समयमा उज्यालो बनाउन १५० वटा सोलार बत्ति जडान गर्न लागिएको छ ।

लोमान्थाङमा सोलार पलान्ट स्थापना गरेर विद्युत सुबिधा पु¥याइएको छ । चीन सरकारको सहयोगमा ७० किलोवाट क्षमताको सोलार पलान्ट सञ्चालन गरिएको मुखिया ज्ञानेन्द्र बिष्टले बताउनुभयो ।

केन्द्रीय प्रशारण लाइनको विद्युत सुबिधा नपुगेको लोमान्थाङमा यसअघि लघुजलविद्युत परियोजनाबाट विद्युत उपलब्ध गराइएको थियो । मौलिकतालाई जोगाउन कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक र केन्द्रीय प्रशारण लाइनको विद्युतलाई बस्ति बाहिरबाट लैजाने गरि नक्साङ्कन गरिएको छ ।

बस्तिभित्र अव्वस्थित पार्कीङको समस्या हटाउन यस वर्ष बसपार्क निर्माण सुरु भएको छ । लोमान्थाङको बस्ति भित्र्ने ठाउँमा गाउँकौ मौलिकता झल्काउने प्रवेशद्धार बनाइएको छ ।

समुन्द्रि सतहदेखि तीन हजार ७०० मिटरको उचाइमा अवस्थित लोमान्थाङमा सात सय वर्ष पहिले तत्कालीन राजा आमेपाल बिष्टले बस्ति बसाउनुभएको थियो । लोमान्थाङको पुरानो बस्ति माटोको पर्खालभित्र छ ।

बस्ति भित्र तत्कालीन मुस्ताङी राजाको दरबार र तीन वटा गुम्बा छन् । पृथक भूवनोट भएको बस्तिका सबै घरमा माटोका छाना हुनु यहाँको अर्को बिषेशता हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: