कोरला नाका जोड्ने बेनी–जोमसोम स्तरोन्नतिमा ढिलाई


बेनी, १ कात्तिक ः चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम सडक आयोजनामा ढिलासुस्ति भएको छ ।

७६ किलोमिटर दुरीको सडक कालोपत्रे गर्ने लक्ष्य सहित सञ्चालित आयोजनाको ठेक्का अवधि सकिन दुई महिना बाँकी रहँदा पचास प्रतिशत मात्रै भौतिक प्रगति भएको हो । म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तिर्थयात्री साँघुरो, जिर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने सवारी चालक झलक पाइजाले बताउनुभयो ।

म्याग्दीको गलेश्वर देखि मुस्ताङको लेते सम्मको सडक जोखिमयुक्त भएको यातायात ब्यवसायीले बताएका छन् । २०७४ असारमा चार वटा प्याकेज मा बिभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का लिएका थिए । २०७६ मंसिर सम्म काम सक्ने सम्झौता भएपनि करिब पचास प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो ।

शर्मा–गजुरमुखी जेभीले दूई वटा र पप्पु–तामाङ–कोशी–न्यौपाने जेभीले एक वटा प्याकेजको ठेक्का लिएको छ । कोवाङ–टुकुचे खण्डमा ग्राभेल गरिएपनि अन्य ठाउँमा सडक फराकीलो बनाउने र पर्खाल लगाउने बाहेकका काम भएको छैन् । शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको गलेश्वर–नारच्याङ पुल सम्मको सडक स्तरोन्नतिको प्रगति सबैभन्दा निराशाजनक छ ।

पछिल्लो पटक संसोधन भएको सार्वजनिक खरिद ऐनमा उल्लेखित नीतिगत ब्यवस्था अनुसार निर्माण व्यवसायीहरुले मजदुर र उपकरण अन्य ठाउँका अधुरा आयोजनामा परिचालन गरेका छन् । प्रतिकुल भुगोल, मौसम र नीतिगत कारण प्रभावित भएको बेनी–जोमसोम–कोरला सडक आयोजनालाई तिब्रता दिन पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

वि.स २०६४ मा नेपाली सेनाले ट्याक खालेर वि.स २०६७ मा सडक बिभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्चि अवस्थामा छ । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रबिधिको कालोपत्रे गरिने भएको छ । नाली सहित ११ मिटर चौडाई रहने सडकको सात मिटर चौडाईमा कालोपत्रे गर्न लागिएको हो ।

२०७३ पुषदेखि सुरु भएको ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक स्तरवृद्धी योजनाको छोसेर–कोरला खण्डको काम सकिएको छ । जोमसोम–छुसाङ खण्ड अन्तिम चरणमा पुगेको छ । चराङ–छोसेर खण्डमा सडक विस्तार सुस्त भएको लोमान्थाङका ज्ञानेन्द्र बिष्टले बताउनुभयो ।

जोमसोमदेखि कोरला सम्मको सडकलाई ७ वटा प्याकेजमा बाँडेर ११ मिटर फराकीलो, नाली बनाउने र पर्खाल लगाउने योजना छ । शर्मा–युनाइटेड जेभीका आयोजना ब्यवस्थापक बलराम अर्यालले प्रतिकुल भूगोल र भेरियसनमा भएको ढिलाइका कारण समस्या भएको बताउनुभयो । नवलपरासी देखि लोमान्थाङ जोड्ने ४३५ किलोमिटर दुरीको यो सडकलाई गण्डकी प्रदेश सरकारले लाइफ लाइन घोषणा गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: