सानोगढी–कालिखोला चल्यो मोटरबोट

भरतपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीखोला–सानोगढी मोटरबोट सञ्चालनमा ल्याइएको छ । ४५.५ किमी लामो जलयात्रा गर्न सकिने गरी आयुश्मा मोटरबोट कम्पनी प्रालिले शुक्रबारदेखि मोटरबोट सञ्चालनमा ल्याएको हो ।

इच्छाकामना गाउँपालिका वडा नं ६ को कालिखोला स्थित त्रिशूली नदी सुरू विन्दु बनाएर मोटरबोट सञ्चालनमा आएको हो । त्रिशूली र नारायणी नदीमा हुने जलयात्रा नेपालकै सबैभन्दा लामो जलयात्रा भएको कम्पनीको दाबी छ ।

कम्पनीले अहिले १४ सिट र १० सिट भएका दुईवटा मोटरबोट सञ्चालनमा ल्याएको छ । जलयात्रासँगै एकरात होटलमा बसेको र खाएको एक जनालाई तीन हजार ५०० रूपैयाँ लाग्ने छ । दुई घन्टाको यस जलयात्रामा बाह्य पर्यटकहरुलाई प्राथमिकतामा राखिएको कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले बताए ।

आन्तरिक पर्यटकहरुलाई देवघाटदेखि सानोगढीसम्म जलयात्रा गराउन पनि सकिने उनले बताए । यसका लागि पाँच सय रूपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

कम्पनीले १४ सिटको मोटरबोटलाई ३० लाख रूपैयाँ र १० सिटको मोटरबोटलाई ३५ लाख रूपैयाँ लगानी गरेको हो । १४ सिटको मोटरबोट नेपालमा नै बनाएकाले सस्तो परेको अधिकारीले बताए । १० सिटको मोटरबोट कलकत्ताबाट ल्याइएको हो । भ्रमण वर्षको पूर्वसन्ध्यामा सञ्चालनमा आएको मोटरबोटले चितवनको पर्यटन विकासमा ठूलो उपलब्धि हासिल गर्ने उनले बताए ।

प्रदेश नं ३ का सांसद् घनश्याम दाहालले त्रिवेणीसम्म मोटरबोट जलयात्रा सञ्चालनमा ल्याउन सकिए वाल्मीकि आश्रममा पनि पर्यटकहरु पुग्ने बताए । यस प्रकारको जलयात्रा सञ्चालन गर्ने क्रममा आएका अवरोधहरुलाई सरकारले हटाउनुपर्ने उनको भनाइ छ । मोटरबोट जलयात्राले भ्रमण वर्षलाई सफल बनाउन ठूलो योगदान दिने उनले विश्वास व्यक्त गरे ।

मोटरबोट सञ्चालनका लागि सरकारले विंस २०७५ फागुन ६ गते नै स्विकृति दिएको थियो । निकट भविष्यमा नै कम्पनीले कुरिनटारदेखि सानोगढीसम्म ४० सिटको मोटरबोट सञ्चालन गर्ने तयारी गरिरहेको कम्पनीका उपाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए । यसलाई करिब ८० लाख रूपैयाँ पर्ने अनुमान गरिएको छ । कम्पनीमा २१ जनाको शेयर लगानी रहेको छ ।

चितवनपोस्टबाट

Leave a Reply

Scroll to Top
%d bloggers like this: