सन्दुकका सकल सपना

९३ वर्षीया आमालाई जहाजमा पेरिसबाट काठमाडौं ल्याए, फ्रेन्च लेखक माथ्थियु रिकार्डले  । साथीहरूले माथ्थियु बौलाए नभनेका होइनन् तर उनले हठ गरिरहे– पेरिसभन्दा काठमाडौंमै आँखाको उपचार राम्रो हुन्छ  ।

किनभने, काठमाडौंमा डा. सन्दुक रुइत छन् । मोतियाबिन्दुको शल्यक्रियाका लागि विश्वभरिकै महानतम् कलाकार उनै हुन् । क्या शानदार शल्यक्रिया !

मदर टेरेसाकी अवतार मानिने स्विस–फ्रेन्च जनस्वास्थ्यविज्ञ डा. निकालो ग्रास्सेट जेनेभाबाट सीधै काठमाडौं ओर्लिइन् । र, उनले पनि सन्दुककै ‘सुनौला हात’ बाट मोतियाबिन्दुको शल्यक्रिया गराइन् । जीवनको अर्को शुक्लपक्ष भेटिन् उनले ।

यस्ता अनेक किस्सा छन्, डाक्टर सन्दुक रुइतका जिन्दगीमा । फ्रेन्च डाक्टरहरूले ४५ मिनेटमा गरिरहेको शल्यक्रिया उनी सातै मिनेटमा फत्ते गरिदिन्छन् । निको पार्न सकिने अन्धोपनमा उनको क्रान्ति चानचुने छैन ।

यी स्वनामधन्य चिकित्सकले हालै मात्र पाँच लाख राशिको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाए । ढिलै भए पनि देशले दिएको मान्यता शिरोपर गरे । पोहोर साल भारतको प्रतिष्ठित पद्मश्री अनि सन् २००६ मा फिलिपिन्सको रामोन म्यागसेसे पुरस्कार पाइसकेका यी डाक्टरको निजी खातामा थाइल्यान्डको प्रिन्स महिडोल र रिडर्स डाइजेस्टको एसियाली युवा पुरस्कार, अल्बर्ट आइन्स्टाइन फाउन्डेसन ग्लोबल भिजनरी अवार्ड, वर्ल्ड इकोनोमिक फोरमको सोसल इन्टरप्रेनरसिप अवार्ड, भुटानको नेसनल अवार्ड पनि दर्ता छन् । पुरस्कारको फेहरिस्त निकै लामो हुन जान्छ ।

ताप्लेजुङको अन्तिम हिमाली गाउँ ओलाङचुङगोलामा ६४ वर्षपहिले जन्मिएका थिए, सन्दुक । उनका पिता सोनाम वाङग्यालले पुर्ख्यौली तिब्बती गाउँ रुथोकको सम्झनामा रुइत थपेछन् काठमाडौं बस्दा । खासमा सोनाम घुमन्ते नुन व्यापारी थिए भने आमा कासाङ ऊन कात्ने काम गर्थिन् ।

यती, हिमचितुवा, काला भालु, नीला भेडा र उडन्ते लोखर्केको कथा सुन्दै बितेको थियो सन्दुकको बाल्यकाल । तिब्बती भाषामा सन्दुकको अर्थ हुन्छ, आकाशको ड्र्यागन । लामो पुच्छर, तिखा नङ र लामो पखेटा भएको आगो ओकल्ने पौराणिक जीव मानिएको छ ड्र्यागनलाई ।

आँखा चिकित्सामा सन्दुक रुइत भनेकै हात र आँखाकै कमाल हो । एकफेर चौंरीका ढाडमा चढेर उपद्रो गर्दा उनको दाहिने हात भाँच्चिहाल्यो । तर, उनी हात कहिले निको होला भनेर पर्खेनन् । देब्रे हातले नै काम चलाए । दुवै हात र गोडा एकसाथ चलाउन जानेपछि के चाहियो ? आँखा चिकित्सामा त्यही वरदान भयो ।

तमोर नदीको सिरान वालुङको जनजीवन मुस्किल थियो । चौंरीको घन्टीको टिङटिङ, गुम्बाको मन्त्र वाचन, ढोलको आवाज अनि तमोरको सुसेलीबीच हुर्किए सन्दुक । नयाँ कुरा जान्न सदैव जिज्ञासु छोराको त्यही स्वभाव चिनेर सोनामले एक भन्सार कर्मचारीलाई कखरा सिकाउन लगाए । अनि १५ दिने पैदल बाटो दख्खिन दार्जिलिङ पठाउने इन्तजाम मिलाउन ढिला गरेनन् । सातवर्षे सन्दुकको गन्तव्य भयो, सेन्ट रोबर्टस् स्कुल । ती लजालु केटाले तीन वर्षसम्म बाबुआमालाई भेट्नै पाएनन् । ६ वर्षे स्कुल बसाइमा जम्मा एक पटक घर जान पाए । त्यो पनि कञ्चनजंघाको काखमा होइन, धनकुटाको हिलेमा । तमोर नदीको हूलदंगापछि गोलाको बस्ती नै विस्थापनमा पर्‍यो । उनको परिवार हिले रवाना भयो । हिलेबाट दार्जिलिङ फर्केको तीन वर्षपछि भारत र चीनबीच घमासान युद्ध भयो, स्कुल बन्द भयो । सोनामले सन्दुकलाई काठमाडौंको सिद्धार्थ वनस्थली स्कुल भर्ना गरिदिए । दार्जिलिङभन्दा झन्डै दोब्बर दूरीमा ।

सन्दुक कक्षा ७ बाट सीधै ९ कक्षामा फड्किए । र, प्रथम श्रेणीमा एसएलसी गरी त्रिचन्द्र क्याम्पसमा विज्ञानको विद्यार्थी भए । सन्दुक परिवारको दुःख के भने त्यति बेलासम्म झाडापखालाले दाजु र ज्वरोले बहिनीको इहलीला सकिइसकेको थियो । काठमाडौंमै सन्दुकसँगै बसेर पढिरहेकी बहिनी याङ्ला पनि दोस्रोपटक क्षयरोग बल्झेर बितिन् । याङ्लाको अन्तिम शब्द उनको कानमा अझै गुन्जिरहेका छन्, ‘दाजु, राम्ररी पढ । जीवनमा असल काम गर । मजस्ता दुःखी मानिसका निम्ति केही न केही जमर्को गर ।’ १९ वर्षको उमेरमा उजाडिएको परिवार देखे सन्दुकले । बहिनी याङ्लाकै तीन वचनमा यी हिमाली ठिटोले डाक्टर बन्ने प्रेरणा पाए । नभन्दै सन्दुकले कोलम्बो प्लान पाए, भारतको लखनउस्थित किङ जर्ज्स मेडिकल युनिभर्सिटीमा । एमबीबीएस पढ्दा चिरफारमा गोल्ड मेडल नै भेटे । लखनउ पढ्न जानुभन्दा अघिको आठ महिना होटल अन्नपूर्णमा बेल व्वायको काम गरेका सन्दुक वीर अस्पतालमा जुनियर मेडिकल अफिसर नियुक्त भए । ‘डाक्टरका रूपमा पहिलो पटक काठमाडौं आइपुग्दा मलाई संसारै जितेजस्तो लागेको थियो, ल अब मलाई हेर भन्ने भावमा,’ उनी भन्छन्, ‘त्यसपछि त बाले पनि पुर्ख्यौली व्यापारमा लाग्न फकाइफुल्याइ गरेनन् ।’

त्यही बेला सन्दुक वीरको नेत्रचिकित्सा विभागमा जोडिएर आँखा शिविरमा खटिए । अत्यन्त छोटो समयमा झन्डै तीन सय जनाको अन्धोपन निमिट्यान्न देखेपछि उनमा चिकित्साको चमत्कारबोध भयो । अन्ततः उनले विश्व स्वास्थ्य संगठनको छात्रवृत्ति पाए, नेत्र चिकित्सामै पोस्ट ग्य्राजुएट डिग्रीका लागि । भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स उनको जीवनको कति महत्त्वपूर्ण मोड थियो भने ७० सिटका लागि ७५ हजार विद्यार्थीसँगै भिड्दा पाएको अवसर जो कसैलाई उपलब्ध हुने थिएन । त्यहाँ उनले थेसिस लेखेका थिए, क्षयरोगले बाँदरलाई अन्धो बनाउँछ कि बनाउँदैन ?

रोचक के भने इन्स्टिच्युटकै माथिल्लो तल्लाको पिँजडामा २० वटा बाँदरलाई थुनिएको थियो । ‘हेरालुलाई पैसा, ह्विस्की र चुरोट घूस खुवाएर म बाँदरको शल्यक्रिया गरी घण्टौँ बिताउँथे,’ उनी सम्झन्छन्, ‘बाँदरसँग दिनहुँ कुस्ती खेल्नुपर्थ्यो । मेरो पाखुराभरि ठूलठूला घाउ हुन्थ्यो ।’ त्यसैले त माइक्रो सर्जरीमा कहलिए सन्दुक । सिङ्गो ब्याचमा दोस्रो भए । ती बाँदरहरूप्रति उनी अहिले पनि एकदमै कृतज्ञ छन् ।
फर्केर नेपाल आँखा अस्पतालमा काम थाले उनले । चिकित्सा सहायक र प्यारामेडिक्सलाई पढाउने क्रममा उनको पाटनकी नेवार कन्या नन्दासँग हित्तचित्त मिल्यो । कुशल नर्स नन्दाको मनमन्दिरमा प्रवेश पाउन उनले थुप्रै हर्कत पनि गरे । भागीविवाह गरी नेदरल्यान्ड्सको एम्सटर्ड्याम गए । त्यतिबेला रुइत ३३ वर्षका थिए भने नन्दा २५ की ।

एम्सटडर््याम बस्दाबस्दै अति घनिष्ठ मित्र आँखा डाक्टर एवं प्रोफेसर फ्रेड हलोजले अस्ट्रेलिया बोलाए । त्यहाँ सन्दुकले प्रिन्स अफ वेल्स अस्पतालको नेत्र चिकित्सा विभागमा इन्ट्राअकुलर लेन्स सर्जरीको अभ्यास गरे र त्यसमा चाँडै अब्बल ठहरिए पनि । सन् १९८८ मा नेपाल फर्केपछि सन्दुकले इन्ट्राअकुलर मोतियाबिन्दुको शल्यचिकित्सालाई एकदमै सानो घाउ बनाए पुग्ने गरी परिमार्जन गरे । सस्तो र छिटो मात्र नभई खराब बिरामीका लागि बिना टाँकाको त्यो उपचार महान् थियो । त्यसमा सिनियर डाक्टरले उल्याएनन् मात्र, विरोधमै उत्रिए । नेपाल आँखा अस्पतालका प्रमुख डा.रामप्रसाद पोखरेल समेत उनको विपक्षी मोर्चामा उभिए । उनीहरूले भने— न तिमीसँग उपकरण छन्, न त लेन्स । यो काम कदापि हुनेवाला छैन । यस्तो सपना देख्न छाड सन्दुक ।

रुइत पनि सजिलै हार मान्ने खालका थिएनन् । दुई सय डलरको इन्ट्राअकुलर लेन्स प्रयोग गर्नुभन्दा पुरानो शल्यक्रिया गरी ६०–७० जनालाई मोटो चस्मा भिराइदिने कमसल तर्कसामु उनी झुकेनन् । आँखाको धमिलो भाग हटाउने तर भर्पाई नगर्ने पुरानो प्रविधि अझ नेत्रज्योति बढ्दा पनि धमिलै देखिने थोत्रो प्रविधि उनलाई स्वीकार थिएन । सन्दुकले जिकिर गरे, ‘बिरामी हामीकहाँ आउन सक्दैनन् भने हामी नै बिरामीकहाँ किन नजाने ?’

संस्थापन पक्षले डा. सन्दुकलाई अपराधी, गद्दार र पागलसमेत भन्न बाँकी राखेन । पहाडी भेगमा अन्धा मानिसहरूको उपचार गर्ने पागल डाक्टर भनिएन कि मुद्दा नलाग्ने शल्यक्रिया भनिएन ? त्यसै बेला प्रोफेसर रविनले अमेरिकी चिकित्सा संघको पत्रिकामा सन्दुकको उपचार विधिबारे चर्चा गरे भने प्रोफेसर अल्फ्रेड सोम्मरले इन्ट्राअकुलरबाहेक अरू शल्यक्रिया अनुचित हो भनेर धाप दिए ।

प्रोफेसर एलेन रोबिन यथास्थितिलाई सकार्न इन्कार गर्ने अर्का स्टिभ जब्सको रूपमा लिन्छन् डा. रुइतलाई । मोतियाबिन्दुको शल्यक्रिया गरी आँखाभित्रै लेन्स प्रत्यारोपण गरेर नेत्रज्योति फर्काउने सरल चिकित्सा विधि हेनरी फोर्डले अमेरिकामा मोटरगाडी बनाएजस्तै मान्छन् अस्ट्रेलियाली नेत्र विशेषज्ञ ग्यारी ब्रायन ।

दुःख यतिमै सकिँदैन, दुर्गम भेगमा माइक्रो सर्जिकल शिविर राख्दा सन्दुकविरुद्ध तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासम्म उजुरी गरियो । संयोग कस्तो भने त्यसको केही दिनमै उनले कोइरालाको शल्यक्रिया गर्ने जिम्मा पाए । उनको आलोचक मात्र होइन, ऐनमौकामा जेल हाल्न पनि डाक्टरको एउटा समूह नै लागेको थियो । बाधा, विरोध र व्यवधानले एकातिर उनको धूमपान र मद्यपानको मात्रा बढ्यो भने अर्कोतर्फ उच्च रक्तचापको गोली नै खानुपर्‍यो ।

असहयोग र बदनामीबीच डा. सन्दुकले सन् १९९० मा सरकारी अस्पताल छाडे । वाग्मती किनारमा आफ्नै अस्पताल खोल्ने सपना सजाए । सहकर्मी डा. रीता, नवीन, करुणा, विना, भगीरथ, रवीन्द्र र डा. गोविन्द पौड्याल गरी सात जनाले उनलाई टेकोपुँडो दिए ।
तिलगंगा अथात् सानो नदीछेउमा राजधानी सहरमा दोस्रो आँखा अस्पतालको उद्घाटन भयो, ७ जुन १९९४ मा । तत्कालीन राजा वीरेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट । पहिलो दिन बिरामी नआउलान् भनेर पोस्टर टाँसिएको उनलाई झलझली सम्झना छ, ‘निःशुल्क चिया र आँखाको निःशुल्क उपचार ।’ त्यही दिन हो, डा. रुइतको असाधारण खुसीको दिन ।

नेपालको वैदेशिक सहायताको रकम पहिलो विश्वका पश्चिमा डाक्टरको खल्तीमा फर्केको देखेर मेडिकल टुरिस्ट भन्ने गम्भीर आक्षेप लगाउने हलोज र उनकी पत्नी गाबीले सन्दुकका लागि के गरेनन् ? नेपाल आँखा कार्यक्रम अस्ट्रेलिया नामक सहयोग समूह गठन गरी दुई हजार डलरको बीज रकम सुरुआत गरिदिए ।

त्यही स्वप्नशील अभियानको विशाल रूप नै अहिलेको तिलगंगा आँखा प्रतिष्ठान, प्रशिक्षण केन्द्र, इन्ट्राअकुलर लेन्स कारखाना र आँखा बैंक हो । यसलाई अस्टेलियाको फ्रेड हलोज फाउन्डेसन, स्विटजरल्यान्डको भिजन हिमाल र अमेरिकाको हिमालयन क्याटर्‍याक प्रोजेक्टको भरपूर सहयोग छ । इन्ट्राअकुलर लेन्स कारखाना खासमा फ्रेड हलोजको परिकल्पना थियो । सधैंभरि दाताहरूको मुख ताक्नुभन्दा सस्तो मूल्यमा आफैं लेन्स बनाउने हाइटेक कारखाना । यी ससाना जादुमय टुक्रा लेन्स नेपालमा प्रतिवर्ष पाँच लाख बन्छन् र विश्वका ७० देशमा बिक्री हुन्छन् । यसलाई तीन गुना बढाउने यी डाक्टरको मनसुवा छ ।

२५ वर्ष सेवा दिएको तिलगंगाले विश्व स्वास्थ्य संगठनबाट हालै मात्र सहकार्य केन्द्रको मान्यता दिएको छ । विश्वका १० सहकार्य केन्द्रमध्ये एउटा नेपाल हुनुलाई डा. रुइतले गर्वका रूपमा लिएका छन् । ‘आँखा उपचारमा नेपाललाई ग्लोबल ब्रान्ड बनाउन, आर्थिक टेवा दिन अनि भ्रमण वर्ष सफल पार्न पनि यसले सघाउनेछ,’ उनी भन्छन्, ‘यो आँखा उपचारको प्रविधिलाई प्रोफेसनल बिजनेस मोडलमा ढाल्ने चुनौती छ ।’

रुइतको अर्को सफलता रक्तदानजस्तै हुन सक्यो आँखाको नानी दान । तिलगंगा आँखा बैंकमा बचत भएका आँखाका नानी भुटानदेखि चीन, मलेसिया, पाकिस्तान, कम्बोडिया, बंगलादेशदेखि पूर्वी टिमोरसम्म पुग्छन् । डा. रुइतले विकास गरेको आँखा चिकित्सापद्धति ‘रुइतेक्टोमी’ एसियाली मुलुकदेखि अफ्रिकासम्म पुगेको छ । तिलगंगाले बनाएको आँखाको कुनामा हालिने पातलो लेन्सको मूल्य जम्मा चार डलर छ । ‘मेरो सफलताको एउटै सूत्र टिमवर्क हो,’ उनी भन्छन्, ‘नेतृत्वको भिजनलाई भित्रसम्मै मनन गर्ने बनाउन सक्नुपर्छ । यसको सर्टकर्ट छैन ।’

तीन दशकयता नेपालमा १ लाख २० हजार शल्यक्रिया र संसारभरिका दुर्गम भेगमा यस्ता सयौं शिविर चलाइसकेका डा. सन्दुकलाई बिरामीका धपक्क बलेका अनुहारहरूभन्दा बढी सन्तुष्टि केहीले दिँदैनन् । न बाटो देखाउने कुकुर, न सेतो छडी, न ब्रेल लिपि, न विशेष स्कुल केही पनि सुविधा नभएका बिरामीका निम्ति डा. सन्दुक रुइत भगवान्का अर्को अवतार हुन् ।

जहाँ जहाँ आवश्यकता हुन्छ, त्यहाँ त्यहाँ शिविर लिएर हिँडे डा. रुइत । जहाँ पहिलोपटक शिविर लगे, त्यहाँ अर्को पटक अस्पताल खडा गरे । उनका पाइला १० वर्ष लामो सशस्त्र द्वन्द्वमा पनि रोकिएनन् । विस्फोटक पदार्थ, हाते बम, मिसिन गन, हाते ग्रिनेट छल्दै डा. रुइत घुमन्ते शल्यक्रियामा गइरहे । उनीसँग एउटा सानो कालो ब्याकप्याक सदैव हुन्छ । त्यसमा हरदम पासपोर्ट, वालेट, मोबाइ, सनग्लास, टोप र ऊनको ज्याकेट हुन्छन् । अगाडिको सानो चेनवला पकेटमा दुई गुरुको मन्त्र भएको रेसमी थैलो । अबको केही दिनपछि नै लुम्बिनी, कालिम्पोङ, सिक्किम हुँदै १० जनाको टोली लिएर उनी भुटान जाँदै छन् ।

उनकै नेतृत्वमा आँखा अस्पताल बन्दै छ भुटानमा । भुटान जाँदा उनी सडकमार्गबाटै जान्छन्, त्यो पनि आफ्नै गाडीमा । उनी शिविर लिएर उत्तर कोरिया पनि पुगेछन् । यसको छुट्टै विस्मयकारी कथा छ । एकपटक उनको न्युरोडस्थित प्राइभेट क्लिनिकमा आएका थिए किम नामक बिरामी । उनले त्यहाँ एउटा कार्ड छाडेका रहेछन्, जनवादी गणतन्त्र कोरियाका वाणिज्य दूत लेखिएको । त्यसले डा. सन्दुकलाई तानिहाल्यो । किमलाई सम्पर्क गरेर तिलगंगामा निम्त्याए र अस्पताल अवलोकन गराए । उनलाई थाहा थियो, उत्तर कोरियामा पाँच लाख अन्धोपनका बिरामी छन् । वर्षौं वार्तापछि सन् २००५ मा प्योङयाङ पुगे मेडिकल टोलीसहित । निजी स्वतन्त्रता कटौती झेलेर भए पनि दुई हप्ता बिताए र आफूले सकेको सेवा दिए ।

प्रायः संगीतको लयमा शल्यक्रिया गर्छन् उनी । त्यस्तो बेला प्रायः खाली खुट्टै हुन्छन् । उनी सात घण्टासम्म एउटै थलोमा बसेर, केही पनि नखाई, शौचालयसमेत नगई एकोहोरो काम गर्न सक्छन् । रुइतलाई संसारभरिबाट सुखसुविधाका अनेक अफर आए । तिनलाई कहिल्यै किञ्चित महत्त्व दिएनन् । कतिसम्म भने सन् २००० मा राजा वीरेन्द्रको अनौपचारिक सल्लाहकारको भूमिका समेत लिएनन् । राजा वीरेन्द्रसँग उनको हिमचिम कस्तो भने हत्या हुनु केही साताअघि आँखाको ग्लुकोमा उनैले हेरेका थिए ।

२० वर्षे डेराबासपछि सन् २००९ मा बल्ल स्वयम्भूको आसपास दुईतले घर किने डा. रुइतले । प्राइभेट प्राक्टिसभन्दा निःशुल्क आँखा शिविर चलाउन चारचौरास धाउने यी डाक्टरले मामुली घर किन्न पनि थाप्लोमा ऋणको भारी बोक्नुपर्‍यो ।रुइतले रोक्दा रोक्दै पनि दुई छोराछोरी सागर र सटेन्लाले पिताकै पदचाप पछ्याएका छन् । अर्की छोरी सेरब्लाले व्यवसायमा हात हालेकी छन् । संगीत र किताबका सोखिन डा. रुइत आफ्नो प्रमुख शक्ति नै परिवारलाई मान्छन् । भूकम्पपछि न्युरोडको क्लिनिक नागपोखरीमा सारेका उनलाई भेट्न चाहनेको निकै लामो प्रतीक्षा सूची हुन्छ । तिनले नपर्खी धरै छैन । जब कि उनी प्राइभेट क्लिनिकलाई ‘माखा मार्ने धन्धा’ भन्थे कुनै बेला ।

यिनै शालीन डाक्टर रुइतको जीवनीमूलक पुस्तक तयार गरेकी थिइन्, अस्ट्रेलियाली पत्रकार अली ग्रिपरले । तीन वर्षे सहकार्यमा लेखिएको ‘द बेयरफुट सर्जन’ खगेन्द्र संग्रौलाको अर्गानिक अनुवादमा नेपालीमा आएकोमा डा. सन्दुक उसै मखलेल छन् । ‘यो किताब मेरा लागि धेरै ठूलो प्लेटफर्म हुनेछ, दुबई लिटरेचर फोरममा जाँदै छु,’ उनी भन्छन्, ‘त्यो फोरममा मैले अन्धोपनबारे मात्रै वकालत गर्ने छैन, नेपालबारे पनि थोरबहुत बोल्नेछु ।’ स्वयंमा हातले नै स्पर्श लिन सकिने सपना बनेका छन्, डा. सन्दुक रुइत । सायद सन्दुकले भन्दा बढी अस्ट्रेलियाली पत्रकार रे मार्टिनले यसको महत्त्व बुझेका छन् । उनले किताबमै भनेका छन्, ‘चिकित्साशास्त्रमा आफ्नो स्थान के हो, त्यो रुइतलाई पक्कै थाहा छ । उनी आफूले नोबेल पुरस्कार पाउन सक्ने कुरालाई हास्यास्पद भनेर उडाउँदैनन् । उनमा महान् आत्मसम्मानको भावना छ ।’ क्याबात् !

कान्तिपुरबाट साभार

Leave a Reply

Scroll to Top
%d bloggers like this: