सन्दिप ठुलो मूल्यमा ‘द हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा

नेपाली स्पिनर सन्दिप लामिछाने इंग्ल्याण्डमा आयोजना हुने ‘द हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा परेका छन्। पहिलो पटक आयोजना हुन लागेको यो फर्म्याटको प्रतियोगिता १०० बलको इनिंगमा खेलिनेछ।

इएसपीएन क्रिक्इन्फोका अनुसार ड्राफ्टमा सन्दिप लगायत १६५ विदेशी खेलाडीहरु रहेका छन्। यस अघि मंगलबारनै प्रतियोगिता खेल्ने ठुला नामहरु घोषणा भइसकेको छ जसमा राशिद खान, क्रिस गेल, डेभिड वार्नर, एरोन फिन्च, बाबार आजम रहेका छन्।

प्रतियोगितामा नेपाल सहित ११ बिभिन्न देशबाट खेलाडीहरु खेल्नेछन्। खेलाडी छनौट गर्न अक्टोबर २० तारिकमा मुख्य ड्राफ्ट आयोजना हुनेछ।

प्रतियोगितामा कुल ८ वटा टिमहरु सहभागी हुने बताईएको छ। टिमको नाम क्रमशः बर्मिन्घम फोनिक्स, लण्डन स्पिरिट, म्यानचेस्टर ओरिजिनल्स, नर्दर्न सुपरचार्जर्स, ओभल इन्भिन्सिबल, साउदर्न ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्स फायर रहेका छन्।

भारतीय खेलाडीहरु भने बिसीसीआईको देश बाहिर हुने लिग खेल्न नपाउने नियमअनुसार लिग खेल्नेछैनन्। आईपीएलसंग प्रतिस्पर्धा गर्ने लिगहरुमा बिसीसीआईले खेल्ने अनुमति दिन गर्दैन। हरभजन सिंह मात्रै लिगमा दर्ता हुने भारतीय खेलाडी हुन्। सम्भवत लिग खेल्नु अघि उनले भारतीय टिमबाट सन्यास घोषणा गर्नेछन्।

प्रतियोगिताको आयोजना देशहरु बीच सिरिजहरु नहुने समयमा आयोजना हुने हुनाले ठुला खेलाडीहरुले लिग खेल्ने विश्वास गरिएको छ।

ड्राफ्टमा सन्दिप ठुलो मूल्यमा

इएसपीएनक्रिकइन्फोले खुलासा गरे अनुसार प्रतियोगितामा ड्राफ्टमा सबैभन्दा बढी मूल्य १ लाख ५५ हजार डलर रहेको छ। यो सुचीमा स्टिभ स्मिथ, मिचेल स्टार्क, डेभिड वार्नर, क्विन्टन डीकक, लुंगी एनगीडी, कागीसो रबाडा, लासिथ मलिंगा, क्रिस गेल रहेका छन्। ८ जना खेलाडीहरु यो सुचीमा छन्।

यस्तै १७ जना खेलाडीहरुको मूल्य १ लाख ४ हजार डलर रहेको छ। यो सुचीमा सन्दिप लामिछाने पनि रहेका छन्। अर्थात् सन्दिप लामिछानेलाई ड्राफ्ट मार्फत कुनै टिमले लिए उनले नेपाली रुपैयाँ करिब १ करोड २० लाख रुपैयाँ पाउनेछन्। सन्दिप पछि यो सुचीमा हरभजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्स्वेल, राशिद खान, शाकिब अल हसन, तमिम इकबाल, शाहिद अफ्रिदी, ड्वेन ब्राभो, सुनिल नारायण, काइरन पोलार्ड रहेका छन्।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: