बालकोटको कपास उद्योगमा आगलागी, २५ लाखको क्षति

५ असोज,   भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार विहान आगलागी हुँदा २५ लाख रुपैयाँको क्षति भएको छ ।

भोजपुरकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योग सबै जलेको कामदारले बताएका छन् ।

के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो ।

काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमीले जानकारी दिएको छ ।

आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएका छन् । प्रहरी वृत्त थिमिमा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले आगलागीका कारण खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको बताए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: