आज थारु समुदायको जितिया पर्व, धुमधामका साथ मनाउदै

असोज ०५ चितवन ।
चितवनका थारु समुदायका महिलाहरुले धुमधामका साथ आज आइतबार जितिया पर्व मनाउँदै छन् । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्व, पश्चिम र माडी क्षेत्रमा जितिया पर्व हर्सोउल्लाहसका साथ मनाउँदै छन् ।

आज महिलाहरु विहानैदेखि निराहर ब्रत बसी दिनभर झाम्टा नाच नाच्ने छन् । रातको समयमा दर खाएर विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाउने छन् । जितिया पर्वलाई तीन दिनसम्म मनाउने चलन छ । थारु महिला अगुवा चन्द्रकुमारी चौधरीले विभिन्न धार्मिक कार्यगरी तीन दिनसम्म यो पर्व मनाइने बताइन् ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाउने गरिन्छ । आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । आज अष्टमीको दिन भएकोले महिलाहरू विहानैदेखि ‘उपास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाउने छन् । आजै आइतबार बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहेको छ ।

रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा ९जितिया ब्रत कथा० घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति ९जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ । हिन्दु धर्मालबम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् ।

चितवनमा करिव ८० हजार थारु समुदायको बसोबास रहेको छ । चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितियाको रौनक छाएको छ । तराईमा बसोबास गर्ने थारु जातिका महिलासँगै मधेसी, मैथिली जातिले पनि जितिया पर्व मनाउने गरेको पाइन्छ ।

कालिका न्यूज

Leave a Reply

Scroll to Top
%d bloggers like this: