बौरिँदै तातोपानी नाका

सिन्धुपाल्चोक : औपचारिक रूपमा नाका सञ्चालनको घोषणा भएको तीन महिनापछि तातोपानी नाकाले गति लिन थालेको छ।दसैं नजिकिएसँगै तातोपानीबाट व्यावसायिक प्रयोजनका सामान आयातमा वृद्धि भएपछि नाकामा चहल पहल बढेको हो। पछिल्लो समय तातोपानी हुँदै स्याउ बोकेका कन्टेनर आउने क्रम बढेको प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बताए।

बस्नेतका अनुसार औपचारिक नाका सञ्चालनमा आएदेखि फाट्ट फुट्ट सामान आएको तातोपानीस्थित सुख्खा बन्दरगाहमा तीन दिनयता दैनिक २० देखि २५ गाडीसम्म सामान आएका छन्।
२०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिक रूपमा पुनः सञ्चालनमा ल्याइएको थियो। नवनिर्मित र आधुनिक सुख्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको तीन महिना खासाबाट सामान नआउँदा खासै व्यापारिक कारोबार हुन सकेको थिएन।

‘चीनबाट सामग्री भित्रिन थालेका छन्’, प्रमुख भन्सार अधिकृत बस्नेतले भने, ‘नाकाबाट विगतमा अत्यधिक आउने तयारी पोसाक भने उल्लेख्य मात्रामा आएका छैनन्।’ भन्सारले कारोबार सुरु गरेयता बिस्तारै आयात बढ्दै गएको उनले बताए।

दैनिक औसत एक–दुई कन्टेनर चिनियाँ सामग्री भित्रिने गरेको तातोपानी नाकाबाट रसुवागढीको बाटो पहिरोले रोकिएपछि सामान आउने क्रम बढेको छ। खासामा व्यवस्थित स्टोर नभएकाले अपेक्षा गरे जसरी नाकाबाट सामान आउन नसकेको व्यवसायी बताउँछन्। ‘खासामा व्यवस्थित स्टोर र चिनियाँ ट्रान्सपोर्ट कम्पनी आउने हो भने तातोपानी नाका पहिलेको अवस्थामा फर्कन्छ’, व्यवसायी अर्जुन सापकोटा भन्छन्, ‘दसैंका सामान पनि तातोपानी नाकाबाट ल्याउने पहल भइरहेको छ।’ दसैं तिहारजस्ता चाडबाड आएकाले नाकाको कारोबार झन्डै पूर्ववत् अवस्थामा फर्कंन सक्ने भन्सार अधिकारी र व्यापारीको अनुमान छ। चार वर्षपछि दसैंका लागि नाकाबाट भेडा च्याङ्ग्रा लिन व्यापारी तातोपानी नाकाबाट तिब्बत गएका छन्।

भन्सारले कारोबार थालेयता चीनबाट नाका भएर ऊन, पावर ट्रेलर (जोत्ने हाते ट्र्याक्टर), स्पिकर, जुत्ता, चप्पललगायत सामग्री भित्रिएका थिए। पछिल्लो तीन दिनदेखि स्याउ बोकेका कन्टेनर पनि आउन थालेका छन्। ऊन आयात बढी छ। शिल्क ग्रुप नामक चिनियाँ ट्रान्सपोर्टेसन कम्पनीले नेपाली व्यापारिका सामग्री खासासम्म ल्याउने गरेको छ।भूकम्पअघिका पूराना ट्रान्सपोर्टेसन कम्पनी फर्किसकेका छैनन्। उनीहरूलाई फर्काउन नोपाली व्यापारीले पहल गरिरहेका छन्। नेपाली कन्टेनर सामग्री लिन खासा पुग्ने गरेका छन्। भूकम्पपछि खासामा गोदामको व्यवस्था छैन।

नाका सञ्चालनमा आउनुपूर्व भूकम्पले क्षतिग्रस्त बनाएको मितेरी पुल, नेपालतर्फको सडक मर्मत चीन आफैंले गरेको थियो। नेपालको लामो कूटनीतिक प्रयासपछि चीन बन्द तातोपानी नाका खुलाउन सैद्दान्तिक सहमतिमा पुगेको थियो। नाका बन्द हुनुअघि तातोपानीबाट वार्षिक २० अर्ब आयात÷निर्यात हुँदा भन्सारले पाँच अर्ब रुपैयाँ राजस्व संकलन गथ्र्यो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: