मेयर पराजुलीको विदेश मोह : अष्ट्रेलियाबाट फर्केलगतै जापान

विराटनगरको मुख्य बजारका सडक लथालिंग छन् । सडक तथा नाला निर्माणका लागि खनेर छाडिएका कारण सर्बसाधरणलाई अस्पताल पुग्न पनि समस्या छ । तर, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भने निरन्तर विदेश भ्रमणमा छन् । नवौं विदेश यात्राका क्रममा उनी जापान पुगेका छन् ।

अष्ट्रेलियाबाट फर्किए लगतै मेयर पराजुली जापान पुगेका हुन् । गत साउन २३ गते एनआरएनको कार्यक्रमका लागि भन्दै अष्ट्रेलिया पुगेका पराजुली १० दिनपछि नेपाल फर्किएका थिए ।

भदौ ७ गतेको राधाकृष्ण रथयात्रापछि मेयर पराजुली जापान पुगेका हुन् । पराजुलीसँगै महानगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी पनि छन् । पराजुली बुधवार विराटनगर फर्किने कार्यातालिका छ ।

विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि पराजुली भारत, चीन, श्रीलंका, मलेसिया, अमेरिका, अष्ट्रेलिया र जापान पुगिसकेका छन् । उनले भारत र चीनको २-२ पटक भ्रमण गरेका छन् ।

सन् २०१८ अगष्ट १७ मा स्मार्ट चाइना एक्पोको उद्घाटन सत्रमा सहभागी हुन चीन पुगेका पराजुली गत फागुनमा पुनः पाँच सदस्य टोलीसहित चीन पुगेका थिए । चीनका ठूला सहरहरुमा फोहोर व्यवस्थापनको अध्ययन गरी उनी १० दिनपछि विराटनगर फर्किए ।

गत पुस १८ र १९ गते पराजुली भारतको नयाँ दिल्ली पुगेका थिए । गत असोज पहिलो साता पनि उनी वृन्दाबन पुगेर फर्किए ।

अस्ट्रेलियाको सिड्नीमा वर्थ डे पाटीमा सहभागी ।

मेयर पराजुली गत कात्तिक ४ गते पाँचका लागि अमेरिकाको बाल्टीमुर आयोजित कार्यक्रममा सहभागी भए । २०७५ साउन ६ र ७ गते उनी मलेसियामा थिए । पराजुली गत २०७४ कात्तिक १९ गते चार दिने भ्रमणका लागि श्रीलंकाको राजधानी कोलम्बो पुगे ।

सात देशमा ९ पटक भ्रमण, उपलब्धी शून्य

मेयर भीम पराजुलीले दुई वर्षमा सातवटा देशमा ९ पटक भ्रमण गरे पनि उपलब्धी भने शून्य छ । चीन भ्रमणका क्रममा फोहोर व्यवस्थापनमा चिनीयाँ प्रविधिको प्रयोग गर्ने बताए पनि कार्यान्यन हुन सकेन ।

अष्ट्रेलिया भ्रमणका विषयमा भने स्थानीय एउटा सिटीसँग भागिनी सम्बन्धका लागि पहल सुरु भएको मेयर पराजुलीले बताए ।

एनआरएनए अष्ट्रिेलियाको सहयोगमा विराटनगरमा श्रदा आश्रम(वृद्धाआश्रम) ६ वर्षदेखि अधुरै छ । अष्ट्रेलिया भ्रमणका क्रममा श्रदा आश्रमको बाचा पूरा गर्न आग्रह गरिएको पराजुलीले बताएका छन् ।

विराटनगर महानगरपालिका- २ का वडाध्यक्ष कुमार पोखरेल मेयरको विदेश यात्राका कारण नगरसभापछि बोर्ड बैठक बस्न नपाएको बताउँछन् ।

महानगरपालिकाले विकास निर्माण गर्दा सामान्य सावधानी नअपनाउँदा सर्बसाधरणले दुःख पाएका छन् । सडकका कारण नगरवासी समस्यामा रहेको अवस्थामा नगरपीताले विदेश जान नैतिक हिसाबले नमिल्ने पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेलको भनाइ छ ।

 पूर्वमेयर भन्छन्- निम्तो आए पराजुली हिँडि्हाल्नुहुन्छ

विराटनगर महानगरपालिकाका पूर्वमेयर प्रल्हाद साह मेयर पराजुलीको कार्यशैलीका कारण महानगरका जनताले दुःख पाएको बताउँछन् । भिजन विना काम गरेका कारण महानगरको अवस्था ‘नरकपालिका’ जस्तो बनेको उनको आरोप छ ।

काम गर्ने भिजन नभएका कारण जनतालाई अस्पताल पुग्नै मुस्किल परेको उनी बताउँछन् । मेयर पराजुलीको विदेश मोहका कारण जनताले अझै सास्ती पाउने उनको गुनासो छ ।

साह दुई पटक विराटनगरको मेयर बनेका थिए । ‘मलाई चारपटक विदेश यात्राको निम्तो आउँदा जनताको काम गर्छु जान्न् भनें,’ उनी भन्छन्, ‘विराटनगर जस्तो ठाउँको मेयरलाई निम्तो आइरहन्छ । मेयर पराजुली निम्तो आउँदा हिँडिहाल्नुहुन्छ ।’ दुई वर्षमा सामान्य उपलब्धी भए पनि जनताले सोचेजस्तो काम गर्न नसकेको उनले बताए ।

वडाध्यक्ष भन्छन् -मेयरविरुद्ध कसरी बोलौं

विराटनगर महानगरपालिका- ३ का वडाध्यक्ष विनोदकुमार बस्नेत मेयर नहुँदा काममा सामान्य प्रभाव पर्ने बताउँछन् । आफ्नो मेयरविरुद्ध बोल्न नसक्ने बताउँदै उनले भने, ‘उपमेयरलाई अधिकार दिएकै हुन्छ, काममा ठूलो प्रभाव पर्दैन् ।’ मेयरको विदेश यात्राको उपलब्धी भने विस्तारै कार्यान्यन हुनेमा आशावादी रहेको उनले बताए ।

विराटनगर महानगरपालिका- २ का वडाध्यक्ष कुमार बस्नेत भने मेयरको विदेश भ्रमणले गर्दा बोर्ड बैठक नै प्रभावित भएको बताउँछन् । ‘नगरपरिषदपछि बोर्ड बैठक राम्रोसँग बस्न सकेको छैन्,’ उनी भन्छन्, ‘मेयरको विदेश यात्राले काम गर्न गाह्रो भएको छ ।’

बस्नेत महानगरको सबै काम प्रभावित भएको बताउँछन् । सातवटा देशको नौ पटकको भ्रमणको उलब्धी भने केही नभएको उनको भनाइ छ ।

अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: